पोखराका सवारी साधन : मापदण्डविपरीत संचालन 

Share this post :

Facebook
Twitter
WhatsApp

केही दिनअघि १२ वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा २ वटाको रिर्पोट देखिएन, ६ वटा सवारी उच्च प्रदुषित र ४ वटा मात्र पास ।

पोखरामा गरिएको सवारी साधनको प्रदुषण चेकजाँचमा अधिकांश मापदण्डविपरीत भेटिएका छन् । यातायात व्यवस्था कार्यालय सवारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीलेकेही दिनअघि पोखराको न्यूरोडस्थित सवारी साधनको प्रदूषण चेकजाँच गरेको थियो । 

डिजेलबाट चल्ने १२ वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ६ वटा सवारी साधन मापदण्डविपरीत भेटिए । २ वटा सवारीको भने रिर्पोट आएन् । पोखरामा जारी ट्राफिक सचेतना सप्ताह अन्तर्गत पहिलोपटक चेकजाँच गरिएको हो । यसभन्दा अघि २०८० मा चेकजाँच थालनी गरे पनि नियमित हुन सकेन् । चाइनाबाट नयाँ मेसिन खरिद गरेसंगै पोखरामा शुक्रबार अभियानस्वरुप सवारी साधनको प्रदूषण चेकजाँच थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले जानकारी दिइन् । 

‘पर्यटकीय राजधानीमा धुँवा उडाउँदै गाडी गुड्दा ट्राफिकले के हेरेर बसेको छ भन्ने आरोप लाग्थ्यो’ प्रहरी निरीक्षक पाण्डेले भनिन, ‘हामीसंग न जनशक्ति छ न मेसिनरी सामान नै । यातायात कार्यालयले मेसिन ल्याएपछि बल्ल अभियानमा जुटेका छौ । अव जनशक्ति र मेसिन पनि भएकाले नियमितरुपमा अभियान चलाउँछौ ।’ १० मध्ये ६ वटा सवारी साधनमा प्रदुषण देखिनु भनेको पोखराका सावरी प्रदुषणयुक्त छन् भन्ने बुझ्नुपर्ने उनी बताउँछिन् । 

यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले हरेक ६–६ महिनामा सवारी चाँचपास गर्दा प्रदूषण चेकजाँच अनिवार्य रहे पनि पुरानो डिजेल स्मोकमिटर विग्रदा विगत झण्डै ८ महिनादेखि यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा प्रदूषणको मात्रा चेक चेकजाँच गर्न नपाइएको बताए । ‘सामान्य धुँवा हेरेर मूल्यांकन गर्नुपर्ने अवस्था थियो’ उनले भने, ‘नयाँ डिजेल स्मोकमिटर १५ दिन अगाडि ल्याएपछि डिजेलबाट चल्ने सवारी चेकजाँच गर्न पाइएको हो ।’ ओपासीटी १०० मा नेपालमा ६५ प्रतिशतसम्म आउँदा वातावरण अनुकुल नै मानिने उनले बताए । ६५ भन्दा माथि देखियो भने प्रदूषणयुक्त रहेको मानिन्छ । चेकजाँचको क्रममा ९५ सम्म देखिएको शर्माले बताए । 

प्रदूषणयुक्त रहेका सवारी साधनलाई सर्भिसिङ र मर्मतसम्भार गरेर चलाउन निर्देशन दिइएको छ । यातायात कार्यालयले सवारीको बीलबुक राखेको छ । सवारीका आवश्यक कागजात लिन जाँदा पुन प्रदुषण चेकजाँच गर्ने र त्यहाँ पास भए मात्र कागजात दिइने शर्माले बताए । यातायात व्यवस्था विभागको माण्दण्ड अनुसार पुन चेकजाँच गर्दा पनि सवारी साधन प्रदुषणयुक्त देखिएमा रुट प्रमिट नदिने, निलम्बित गर्न सकिने कानुनी व्यवस्था छ । यातायात कार्यालयले यो अभियान पोखरा मात्र नभई अन्यत्र पनि संचालन गर्ने तयारी रहेको बताएको छ । मेकानिक इन्जिनियर सुमन शर्माले अफिस समयमा भन्दा पनि विदाको दिन पारेर नियमितरुपमा चेकजाँच गर्नुुपर्ने बताए । ‘पहिलेको मेसिनमा समस्या थियो’ शर्माले भने, ‘अहिलेको मेसिन लेटेस भर्सनको हो । एक मिनेटमा एउटा सवारी चेक गर्न सक्छौ । १५ मिनेटसम्म रोकिनु पर्दैन् ।’ उनले यसभन्दा अघिको मेसिनमा समस्या मात्र देखिने बताए । 

पोखरा–८ का होटल व्यावसायी प्रलाहद मरासिनीले पछिल्लोसमय सवारी साधनमा धुँवा, धुँलो बढी देखिएको बताए । ‘प्रदूषण परीक्षण नियमित गर्न सके हदसम्म कमी हुने थियो’ मरासिनीले भने, ‘यो अभियान देखाउनको लागि मात्र नहोस ।’ पोखरा यातातयात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले सवारी साधन मर्मत गर्दासमेत मापदण्ड अनुरुप चलाउन नसकिएको बताए । सवारी साधन संचालनमा २० वर्षे म्याद रहेकाले पनि मर्मत र सम्भार गरेको नभेटिने ट्राफिक प्रहरीले जनाएको छ । प्रहरी निरीक्षण पाण्डेले सावरी साधन चलाउँदा बजार क्षेत्रमा हर्न बढी प्रयोग नगर्न, स्पीड कम गर्न र समयसमयमा चेकजाँच गर्न सुझाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *