हुनीकोटमा पहिलोपटक सडक

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको हुनीकोट जिल्ला सदरमुकाम पुतलीबजारबाट नजिकैको दुरीमा रहेको पर्यटकीय गन्तव्य हो । यहाँ पुगेपछि हिमालसंगै जिल्ला सदरमुकामको बजार, आँधीखोला, हरियाली खेत, डाँडाकाँडा र वनजंगल नियाल्न पाइन्छ । पर्यटकीय दृष्टीकोणले पनि आन्तरिक पर्यटकको रोजाईमा पर्ने हुनीकोट भौगोलिकरुपमा फरक छ । सिदार्थ राजमार्गबाट करिव २ घण्टाको पैदलयात्रा भए पनि पूर्वाधार विकास नभएकै कारण पर्यटकीय विकास पनि त्यति हुन सकेको छैन् ।

पर्यटकीय गन्तव्यसंगै स्थानीयबासीको मध्यनजर गर्दै हुनीकोटमा गण्डकी प्रदेश सरकारबाट गत आव २०८१-८२ मा ३० लाख बजेट सडक निर्माणको लागि विनियोजन भएको थियो । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्रीसमेत रहेका पञ्चराम गुरुङले उक्त बजेट निर्माण गरेका हुन् । गुरुङका बाहुल्यता रहेको यस ठाउँमा विकासका लागि अहिलेसम्म कुनै पनि निकायको आँखा नपरेको भन्दै सांसद गुरुङले आफ्नो निर्वाचन क्षेत्र नपरेता पनि बजेट विनियोजन गरिएको बताए ।

३० लाखमा हुनीकोट क्षेत्र वरिपरी ढलान बाटो बनाइएको छ । ‘बर्खामा हिलो, हिउँदमा धुँलोले घरबाट निस्किनै नसकिने अवस्था थियो’ स्थानीय माया गुरुङ भन्छिन, ‘सदरमुकामबाट नजिकै भए पनि सडक निर्माणमा कसैले चासो देखाएनन् । पहिलोपटक घरको आँगन हुने गरी सडक बनेको छ निकै खुशी छौ ।’ गाउँकै सबैभन्दा ज्येष्ठ महिला (९१ वर्षिया)संगै सांसद गुरुङले केही दिनअघि एक कार्यक्रमबीच उक्त सडकको संयुक्त उद्घाटन गरेका छन् ।

उद्घाटनको क्रममा सांसद गुरुङले जनप्रतिनिधि जनताको सेवक रहेको बताए । नेता साशक हुँदा जनताको गुनासा सम्बोधन नहुने बताउँदै उनले जनता भगवान र आफू सेवक रहेको बताए । जनताले नेतालाई प्रश्न गर्न नसक्ने र जे कुरामा पनि हसमा हस मिलाउँदा सोचे अनुरुप विकास हुन नसकेको उनको भनाई थियो ।

पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मी पनि हालसम्म उक्त ठाउँमा नआएको भन्दै स्थानीयले गुनासो गरेका छन् । अहिलेसम्म लगातार भोट दिएर नेता जिताउने मात्र काम भएको र नेताबाट विकासमा कुनै पनि सहयोग नभएको गुनासो स्थानीयको छ । गुरुङ समुदायले आफै आर्थिक सहयोग संकलन गरेर पार्टीपौवा निर्माण गरेको बताए ।

अहिलेसम्म पछाडी परेको हुनीकोट बजार क्षेत्रबाट ट्रेकिङ जान मिल्ने नजिकैको गन्तव्य भएपनि विकासमा भने पछाडी परेको छ । नेताहरुको प्राथमिकतामा हुनीकोट नपरेकाले पनि सडकमा दिनहँु ज्यानको जोखिम मोल्दै, महिला बजार झर्न बाध्य छन् भने विद्यार्थी विद्यालय जान । ‘विरामी परे पनि झट्पट उपचार पाइने अवस्था छैन्’ स्थानीय जोगबहादुर गुरुङ भन्छन, ‘अहिअहि रहेको सास पनि बाटोमा सिधिन्छ भन्ने पीर छ ।’ यस समुदायबाट आवाज उठाएर बोल्ने नेतृत्व नहुँदा पनि समस्या ज्युँकात्युँ रहेको स्थानीय बताउँछन् । पाँच घर दर्ता भए पनि यतिबेला यहाँ २ घरमा मात्र होमस्टे संचालन छ । सडककै कारण पर्यटक सोचे अनुसार नआएको स्थानीय बताउँछन् । प्रदेश सरकारको आर्थिक सहयोगमा संचालित यस होमस्टेमा स्थानीय तहबाट भने कुनै पनि सहयोग प्राप्त नभएको होमस्टे संचालकद्धयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *