पोखरामा ११ करोड बराबरको अवैध सुनसहित ११ पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

प्रहरीले गत शुक्रबार ११ करोड बराबरको अवैध सुनसहित ११ जनालाई पक्राउ गरेको छ । गत शुक्रबार साँझ पोखराको मोहरिया टोलदेखि चिप्लेढुंगासम्म प्रहरीले अवैध सुनचाँदी कारोबारको जालो तोडेको छ । ‘अप्रेसन यल्लो मेटल’ नाम दिइएको अप्रेसनमा गण्डकी प्रदेश प्रहरी, कास्की प्रहरी र मातहतका इकाइको संयुक्त टोलीले ६.४ किलो सुन, सयौं तोला चाँदी र नगदसहित ११ जनालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाले जानकारी दिए ।

बरामद धातुहरुको बजार मूल्य ११ करोड १० लाख ५३ हजार रुपैयाँ छ । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् । उनीहरुले वर्षौंदेखि पोखरामा सुनचाँदी कालिगढ र डिजाइनको काम गर्दै आएका थिए । लामो समयको गोप्य अनुगमनपछि प्रहरीले शुक्रबार दिउँसो ४ बजेदेखि एकैसाथ मोहरिया टोल, तर्सापट्टी, भैरवटोल र चिप्लेढुंगाका विभिन्न पसल र कार्यस्थलमा छापा मारेको एसपी ओलियाले जानकारी दिए ।

बरामदमध्ये सुन ६ किलो ४ सय ग्राम छ । शुक्रबारको बजार मूल्यअनुसार सुनको मूल्य १० करोड ९४ लाख ९३ हजार ८ सय ७८ रुयैयाँ छ । चाँदी ४ सय ४४ तोला ७३।९ लाल बरामद भएको छ । चाँदीको बजार मूल्य अहिले१० लाख ४४ हजार ४ सय ६९ रुपैयाँ छ । प्रहरीले उनीहरुको साथबाट ५ लाख १४ हजार ६ सय ६५ रुपैयाँ नगदसमेत फेला पारेको छ ।
पक्राउ परेकामध्ये भारत महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगतापको साथबाट ११ तोला २०.६ लाल सुन, २ सय ९६ तोला ३३ लाल चाँदी र नगद १ लाख ६० हजार ५ सय फेला परेको हो । कलकत्ताका ४५ वर्षीय मनिकलाल आदकबाट १३ तोला १७ लाल सुन र १० तोला ५५ लाल चाँदी बरामद भएको एसपी ओलियाले जानकारी दिए ।

भारतकै हुग्लीका ३५ वर्षीय सन्दीप ढावसँग ३ तोला ८ लाल सुन बरामद भयो । पश्चिम बंगालका ४१ वर्षीय सोमनाथ पालसँग १२ तोला १२।७ लाल सुन र ९ तोला ५९।४ लाल चाँदी बरामद भएको छ । भारतकै कलकत्ताका ४७ वर्षीय दीपक सामन्तसँग ३८ तोला ५ लाल सुन र ३० तोला ११ लाल चाँदी फेला परेको एसपी ओलियाले जानकारी दिए । भारतकै मेद्नापुरका ४७ वर्षीय गोविन्दा दिण्डाको साथबाट मात्र २ सय १० तोला ८९ लाल सुन भेटियो ।

उनीहरु १५ वर्षदेखि पोखरामा बस्दै आएको ओलियाले जानकारी दिए । ‘प्रहरीले अवैध कारोबार भइरहेको भन्ने सूचनाबाट नै उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले छापा मार्दा यी सुनको अवैध कारोबार भइरहेको देखियो । अहिलेसम्म यसको स्रोत पनि भेटिएको छैन,’ एसपी ओलियाले भने ।

पक्राउ पर्नेहरुमा भारत कलकत्ताको हाउडाका ३५ वर्षीय असित वरसँग ८६ तोला ८७।१ लाल सुन र ३१।५ लाल चाँदी भेटियो । पश्चिम मेद्नापुरका ४४ वर्षीय तापस सामन्त बसेको घरमा २४ तोला १५ लाल सुन, मेद्नापुरका ३८ वर्षीय उज्वल भोमिकसँग ५ तोला ४६।९ लाल सुन बरामद भएको ओलियाले जानकारी दिए । महाराष्ट्रकी ४० वर्षीया सुनिता पवारको घरमा २ तोला ५० लाल सुन र ९३ तोला ६१ लाल चाँदी भेटिएको थियो ।

भारतका ४९ वर्षीय प्रोभास माझीको साथबाट ८८ तोला ३१ लाल सुन र नगद १ लाख ८५ हजार फेला पर्‍यो । यसअघि पक्राउ परेका सञ्जय ढावको घरबाट पनि १३ तोला ५८ लाल सुन, ४ तोला २३ लाल चाँदी र नगद १ लाख ६९ हजार १ सय ५५ रुपैयाँ बरामद भएको एसपी ओलियाले जानकारी दिए ।

सुनचाँदी व्यवसायी संघ कास्कीले साउन २३ गते दिएको सुनचाँदीको कारोबार रकमका अनुसार प्रहरीले मूल्यांकन गरेको एसपी ओलियाले जानकारी दिए । जिल्ला प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले शनिबार पत्रकार सम्मेलनमा पक्राउ परेका सबैलाई बरामद सामग्रीसहित राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइने जानकारी दिए । यो अभियानले पोखरामा लामो समयदेखि लुकीछिपी भइरहेको अवैध सुनचाँदी कारोबारको चक्र तोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *