पचास वर्षपछि रुप फेर्दै सिद्धार्थ राजमार्ग

Share this post :

Facebook
Twitter
WhatsApp

पहाडका भीरपाखा र नदी किनारका चट्टान फोरेर ७ वर्षको अथक मेहेनतपछि विसं २०२८ मा तयार भएको सिद्धार्थ राजमार्गले अब ५ दशकपछि नयाँ स्वरूप पाउने भएको छ । पोखरालाई भारतको सिमाना सुनौलीलगायत देशका विभिन्न व्यापारिक केन्द्रसँग जोड्ने यो पुरानो र ऐतिहासिक सडकको स्तरोन्नतिका लागि सरकारले ठोस कदम चालेसँगै यसको रूप फेरिने आशा पलाएको हो ।

सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधारका लागि ‘एसियाली पूर्वाधार लगानी बैंक’ ९एआइआइबी० बाट प्राप्त हुने २० लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजमार्गको सुधार आयोजना तयारीका लागि यो वैदेशिक अनुदान लिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले राजमार्गको स्तरोन्नतिका लागि आवश्यक तयारी र अध्ययनमा यो रकम परिचालन गरिने बताए ।

वन तथा वातावरण मन्त्रालयले पोखरा–बुटवल सडक स्तरोन्नति परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० प्रतिवेदन सार्वजनिक गरिसकेको छ । प्रतिवेदन अनुसार यो खण्डको स्तरोन्नतिका लागि १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनामा ९ अर्ब ३७ करोड २० लाख रुपैयाँ पुल र सुरुङ निर्माणमा मात्रै खर्च गरिने प्रस्ताव छ ।

स्तरोन्नतिपछि सडकको चौडाइ ५० मिटरसम्म पुग्ने र सडकका दुवैतर्फ १।५ मिटरको ‘सोल्डर’ र १ मिटरको नाली रहने प्रतिवेदनमा उल्लेख छ । यस सडकले यातायात सहज बनाउनुका साथै व्यापार, पर्यटन र स्थानीय रोजगारी प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।

राजमार्ग सुधारका लागि एसियाली पूर्वाधार लगानी बैंक बाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय

भारतीय आर्थिक सहयोगमा विसं २०२२ देखि निर्माण सुरु भई २०२८ मा सम्पन्न भएको १ सय ८१ किलोमिटर लामो यो राजमार्गको उद्घाटन २०२९ वैशाख २५ मा तत्कालीन राजा वीरेन्द्रले पोखरामा गरेका थिए । हाल यो राजमार्ग साँघुरो सडक र घुम्तीका कारण जोखिमपूर्ण मानिन्छ । विशेष गरी स्याङ्जा बजार र आसपासको खण्डमा दुई लेनको सडक, फुटपाथ र नाली समेत नहुँदा पैदल यात्री र सवारी चालकले सास्ती खेप्दै आएका छन् ।

सिद्धार्थ राजमार्ग नेपालको महत्वपूर्ण उत्तर–दक्षिण कोरिडोरमध्ये एक भए पनि कठिन भूगोल र पर्याप्त पूर्वाधार अभावका कारण सवारी चालकहरूको पहिलो रोजाइमा पर्न सकेको छैन । खाद्यान्न र कृषि उपज ढुवानीका लागि बढी प्रयोग हुने यो सडकमा ३४ वटा पुल छन्, जसमध्ये कालीगण्डकी नदीमाथिको राम्दी पुल सबैभन्दा लामो र जीर्ण अवस्थामा छ ।

नयाँ योजना अनुसार सडकका घुम्तीहरू घटाउन र सडकको दूरी छोट्याउन ३८ ठाउँमा ‘भायाडक्ट’ अर्थात् पुल संरचना, ५ ठाउँमा सुरुङमार्ग र बाइपासको प्रस्ताव गरिएको छ । स्याङ्जाको भालु पहाडमा ५ सय मिटरभन्दा कम लम्बाइका ३ वटा सुरुङ बनाउने गरी सडकको डिजाइन गरिएको छ । यसले यात्रालाई सुरक्षित र छोटो बनाउनेछ ।

हाल बुटवल–पाल्पा खण्डको सिद्धबाबामा सुरुङमार्गको ‘ब्रेक थु्र’ भइसकेको छ, जसले यो राजमार्गको सुधारको संकेत दिइसकेको छ । विस्तृत इन्जिनियरिङ अध्ययन अनुसार सडकको ढलान, घुम्तीको अर्धव्यास र सडकको सतह नेपाल सरकारको मापदण्ड अनुरूप हुनेछ ।

सडक विस्तारका क्रममा ५४.१२ हेक्टर जग्गा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । यस अन्तर्गत ४१।४२ हेक्टर खेतीयोग्य जमिन र १२.१८ हेक्टर वन क्षेत्र पर्नेछ । आयोजनाका कारण २ हजार ९ सय ८२ वटा रूख र पोलहरू कटान गर्नुपर्ने देखिएको छ भने ३ सय ५५ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् । यस्तै २१ संस्थागत भवन, ४५ वटा बस बिसौनी, २३ वटा सार्वजनिक धारा र १३ वटा मठ–मन्दिरमा क्षति पुग्ने देखिएको छ ।

वातावरणीय दृष्टिले केही नकारात्मक असर देखिए पनि प्रविधि र सुरक्षाका उपाय अपनाएर आयोजना अगाडि बढाइने बताइएको छ । लामो समयदेखि सामान्य मर्मत र घुम्ती काट्ने काम मात्रै हुँदै आएको यस राजमार्गले अबको ४ वर्षमा आधुनिक र सुविधायुक्त स्वरूप पाउने अपेक्षा गरिएको छ । साभार……

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *