३२ जनामा मोतियाविन्दु, निःशुल्क शल्यक्रिया हुँदै

Share this post :

Facebook
Twitter
WhatsApp

वालिङ नगरपालिकाको आयोजना र हिमालयन आँखा अस्पताल, पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको आँखा स्वास्थ्य शिविरमा उल्लेख्य संख्यामा नागरिकले सेवा लिएका छन् ।

वडा नं ७ केवरेभञ्ज्याङ स्वास्थ्य चौकी र वडा नं ११ श्री कालिका आवि, भकभकामा सञ्चालन गरिएको शिविरमा जम्मा २६१ जनाले आँखा जाँच गराएका थिए । परीक्षणमा ३२ जनामा मोतियाविन्दु पत्ता लागेको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए ।

पाण्डेका अनुसार शल्यक्रिया आवश्यक ठहरिएका ती बिरामीको भदौ ४, ५ र ६ गते गह्रौ प्राथमिक अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ । यसरी स्थानीय तहकै पहलमा गरिएको कार्यक्रमले धेरैलाई जीवनमा ठूलो राहत दिने अपेक्षा गरिएको छ ।

यसरी गाउँ–गाउँमै पुगेर शिविर सञ्चालन गर्नु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने महत्त्वपूर्ण अभ्यास रहेको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । खाँण भन्छन्, ‘मोतियाविन्दु जस्ता रोगहरू समयमै उपचार नगरे अन्धोपनको कारण बन्न सक्छन् । तर धेरै नागरिकले सुरुमा गम्भीरतापूर्वक लिँदैनन् । यसरी शिविरमार्फत प्रारम्भिक अवस्था पत्ता लाग्दा उपचार सजिलो हुन्छ । हामीले नियमित रूपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौं ।’

नेपालमा आँखा सम्बन्धी रोग, विशेषगरी मोतियाविन्दु, बृद्ध उमेरसँगै धेरै देखिने समस्या हो । तर ग्रामीण भेगका नागरिकले उपचारमा ढिलाइ गर्ने, खर्चको अभाव वा अस्पताल पुग्न कठिनाइका कारण समस्या जटिल हुने गरेको कारण यो अभियानलाई निरन्तरता दिइएको नगरउपप्रमुख कविता तिवारी गैरेको भनाई छ । यस्ता अवस्थामा स्थानीय तहकै सक्रियतामा सञ्चालन हुने निःशुल्क शिविरले स्वास्थ्य अधिकारलाई व्यवहारमा उतार्ने महत्वपूर्ण भूमिका खेल्ने तिवारी बताउछिन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले यस कार्यक्रमलाई स्वास्थ्यप्रति नगरपालिकाको प्राथमिकताको प्रमाणका रूपमा लिएको बताए । ‘नगरपालिकाले बजेट र स्रोतको व्यवस्थापन गर्दै नागरिकलाई नजिकमै स्वास्थ्य सेवा पु¥याउने लक्ष्य लिएको छ’ उनले भने, ‘आँखा स्वास्थ्य शिविर त्यसैको उदाहरण हो । यो केवल एकपटकको कार्यक्रम होइन, भविष्यमा पनि निरन्तर गरिनेछ ।’ । वालिङ नगरपालिकाले गत वर्ष पनि १५२ जनाको निशुल्क शल्यक्रिया गरेको थियो ।

स्थानीय सरकारले गरेको यो पहल केवल आँखा स्वास्थ्यकै लागि होइन, सम्पूर्ण स्वास्थ्य सेवामा “नागरिकमैत्री अभ्यास”को रूपमा लिन सकिन्छ । २६१ जनामध्ये ३२ जनामा मोतियाविन्दु पत्ता लाग्नु, र उनीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था हुनु, स्थानीय सरकारको जनप्रेम र जिम्मेवारी बोधको उदाहरण बनेको छ ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *