गण्डकी प्रदेशमा भदौ महिना लागिसक्दा ९३ प्रतिशत माात्र धान रोपाइँ सम्पन्न गरिएको छ । गतवर्षको तुलनामा धान रोपाइँ घट्दो क्रममा छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार बसाइँसराइँ, वन्यजन्तुको बढ्दो प्रकोप र मौसमको प्रतिकूलता जस्ता कारणले धान रोपाइँ घट्दै गएको हो ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङमा धान खेती गरिदैन् । गण्डकी प्रदेशमा ४ लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिन भए पनि ९४ हजार १८२ हेक्टर जमिनमा धान रोपाइँ हुने अनुमान कृषि मन्त्रालयको थियो । तर, हालसम्म ८७ हजार ८०९ हेक्टरमा मात्र रोपाइँ सकिएको छ । जुन कुल अनुमानित क्षेत्रफलको ९३.२३ प्रतिशत हो । गत वर्ष ९६ हजार हेक्टर जमिनमा धान लगाइएको थियो । गण्डकी प्रदेशको मुख्य खाद्यबालीअन्तर्गत धान खेती पर्छ ।
कृषि मन्त्रालयका सचिव बासुदेव रेग्मीका अनुसार गण्डकी प्रदेशभरी उन्नत, स्थानीय र वर्णशंकर (हाइब्रेड) गरी तीन तहको धान लगाइन्छ । गण्डकीमा सावित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा ३, महाराजा, च्याम्पियन, युस–३१२, स्थानीय, सावा मन्सुली, मकवानपुर–१, युएस–३१२, जेठोबुढो, पहेले, गुर्दि, एक्ले, खुमल–४,१०, गौरिया, वयर्नी, सेता र लामो झिनुवा, मार्सी, विरिमफूल, कालो र टुँडे झिनुवा, पोखरेली जुठो बुढो, गुडुरा, जर्नेली, हर्दिनाथ–६, ताइचुङ र अनदी जातको धान रोप्ने गरिन्छ ।
गोरखाको छेवेटार, भुसुन्डेफाँट, पालुङटार, ज्यादुलखोला, आरुघाट, ध्याल्चोक, सिरानचोक, ध्याम्पेसाललाई धान खेतीको पकेट क्षेत्र मानिन्छ । यस्तै, लमजुङमा क्व्होलासोथार, दोर्दी, दुधपोखरी, मस्र्याङदी गापा, बेसीशहर नपा, रामचोकफाँट, दनाइफाँट, मध्यनेपाल, सुन्दरबजार, राइनास नपा, तनहुँमा भानु, व्यास, भिमाद, शुक्लागण्डकी नपा, म्याग्दे, वन्दीपुर, आवुँखैरेनी, पर्वतमा फलेवास, सिमखेत, साझाखेत, पुरानो पधेरो, कुर्गा, शंखर पोखरी, पैय, मर्दीखोला, कुश्मा, जलजला, फर्से, विहादी, महाशिला र कास्कीमा मादी, रुपा, माछापुच्र्छे«, अन्नपूर्ण गापा र महानगरअन्तर्गत लाहाचोक, घाचोक, सेराचौर सल्यान, लेखनाथ, पामे, आर्वा, स्याङ्जामा पुतलीबजार, वालिङ, गल्याङ र चापाकोट नपा, फेदीखोला, अर्जुनचौपारी, आँधीखाला गापा, बाग्लुङमा गलकोट, निसीखोला, बडिगाड र जैमिनी, म्याग्दीमा रत्नेचौर, ज्यामरुककोट, अर्थुङगे, पुलाचौर, सिंगा, बरंजा, बाबियाचौर, कुहूँ, अर्मन, दर्वाङ, ताकम, घतान, पात्लेखेत, राखु, शिख, घार, भुरुङ तातोपानी, नारच्याङ, दाना र पित्ले, नवलपुरमा कावासोती, मध्यविन्द, गैडाकोट, विनयीत्रिवेणी, देवचुली र हुप्सेकोट धान उत्पादनका पकेट क्षेत्र मानिन्छन् ।