हत्या गरेको आरोपमा स्याङ्जाले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनास गाउँपालिका–५ का २२ वर्षिय सिजन थापा, २४ वर्षिय अनिल शाही ठकुरी, २० वर्षिय विवेक मानन्धर, १८ वर्षिय बादल विक, २३ वर्षिय गोरे भन्ने गुरुप्रसाद लम्साल, १७ वर्षिय आर्यन क्षेत्री, २३ वर्षिय विश्वास वाग्ले र वडा नम्बर ६का २२ वर्षिय निशान थापा गरेका छन् । ८ गतेबाट लागू हुने गरी उनीहरुलाई सोमबार जिल्ला अदालत स्याङ्जामा कर्तव्य ज्यान मुद्धा दर्ता गरी १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले जानकारी दिए ।
घटना भदौ ७ गते रातको ११ बजेको हो । वालिङ नगरपालिका–५ जर्कोटस्थित मोटरसाइकल चलाएर हिडेका थिए स्थानीय ढालबहादुर थापा । उमेरले ३२ पुगेका थापा आफ्नै गाउँमा ओहोरदोहोर गरेका थिए । दिउँसो त्यही ठाउँमा भलिभल खेल भइरहेकाले पनि युवाको जमात ठूूलो थियो । साथीभाई भेटघाटको क्रममा उनी अवेरसम्म बसेका थिए । खेल प्रतियोगितामा सामान्य भनाभन भयो । चापाकोटबाट सहभागी भएकाले युवाहरुको समूह बोलाए । दुई समूहबीच झडप भयो । त्यही वाहानामा ढालबहादुरले मोटरसाइकल चलाउदा आवाज निकालेको भनी थप निउ खोजिएको थियो । चापाकोटबाट आएका युवाहरुको समूहले थापामाथि निर्घात कुटपिट गरे ।
कुटाइबाट घाइते भएका थापालाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो । उपचारको क्रममा चिकित्सकले ८ गते विहान मृत्त घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले उक्त घटनालाई गम्भिररुपमा लियो । विशेष अप्रेशन टोली बनाएर अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न भएका व्यक्ति पत्ता लगायो । प्रहरीले जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र मातहतबाट खटिएको विशेष अप्रेसन टोलीले विभिन्न ठाउँबाट ८ जनालाई पक्राउ गरेको एसपी न्यौपानले बताएका छन् । घटना भएलगत्तै प्रहरीलाई सादा पोसाकमा परिचालन गरिएको एसपी न्यौपाने बताउँछन् ।