जेन-जी आन्दालेनबाट पोखराका सरकारी संरचना ध्वस्त : नियमित सेवा थाल्दै प्रशासन, महानगर र अदालत

Share this post :

Facebook
Twitter
WhatsApp

भदौ २३ र २४ गते देशभर भएको जेन्जी आन्दोलनबाट पोखरा पनि चोखो रहन सकेन् । २३ गते आन्दोलन सुरु भए पनि कास्कीमा रहेको प्रदेश र जिल्लास्तरीय सरकारी संरचना २४ गते ध्वस्त पारियो । जेन्जीको नाममा ध्वस्त पारिएका ती संरचनामा ठूलो मात्रामा क्षति पुगेको छ । केहीमा भने आंशिक क्षति भएको छ ।

प्रदर्शनकारीले पोखरा महानगरपालिकाको प्रशासकीय भवन, वडा कार्यालय, जिल्ला प्रशासनसहितका सरकारी कार्यालय, प्रदेशका मन्त्रालय, प्रदेशसभा भवन, प्रहरी कार्यालय तथा चौकी लगायतमा आगजनीबाट क्षति पुर्‍याए । जसमध्ये सरसफाई र रंगरोगनको काम भइरहेको छ । रंगरोगन गरेर प्रयोग गर्न मिल्ने कार्यालयले भने आंंशिकरुपमा सेवा दिन थालेका छन् ।

जिल्ला प्रशासन कास्कीले आइतबारदेखि मुद्दा, शान्ति सुरक्षा र विपद् व्यवस्थापनसमेतका अत्यावश्यक सेवा पुनः सुरु गरेको छ । तोडफोड, आगजनी एवं लुटपाट समेतका कार्यपश्चात् कार्यालयमा ठूलो क्षति पुगेकामा केही कार्यकक्षमा न्यूनतम मर्मतसम्भार गरी अत्यावश्यक सेवा सुरु गरेको विज्ञप्तीमार्फत बताइएको छ । सार्वजनिक सेवालाई पुनः सुरु गर्नु चुनौतीपूर्ण रहेकाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका अन्य सेवा क्रमिक रुपमा सुरु गर्दै लगिने र त्यसका लागि पूर्व जानकारी दिइने प्रशासन कार्यालयले जनाएको । प्रशासन कार्यालयले क्षतिको विवरणपनि माग गरेको जनाएको छ ।

कास्की अदालतले पनि आइतबारबाट म्याद थप, जरुरी पक्राउ पुर्जी स्वीकृत, पक्राउ पुर्जी जारी गर्न अनुमित, बन्दी प्रत्यक्षीकरणको निवेदन र अभियोगपत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरुको हकमा थुनछेक गर्ने सम्बन्धी सेवा पुनः सुरु गरेको छ ।

आगलागीबाट ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयमा पनि मर्मतसम्भार चलिरहेको छ । बस्ने कुर्सी, टेबल, कम्प्युटर लगायतको अभावमा पूर्ण रुपमा काम थाल्न अझै केही समय लाग्ने कास्की प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले बताए । उनले त्यसपछि मात्रै आन्दोलनका नाममा भएको आगजनी, तोडफोड, लुटपाटमा संलग्नको अनुसन्धान थालिने जानकारी दिए ।

पोखरामा जेन–जी आन्दोलनको तोडफोड र आगजनीको इपिसेन्टर हो – न्युरोडस्थित महानगरपालिकाको कार्यालय । सशस्त्र प्रहरीसँग प्रदर्शनकारीको दोहोरो भिडन्तबीच यही कार्यालयबाट सुरु भएको तोडफोड, आगजनी भदौ २४ मा त्यसपछि अन्य ठाउँमा फैलिएको थियो ।

पोखरा महानगरपालिकाको कार्यालय र ३३ मध्ये २६ वटा वडा कार्यालयमा क्षति पुगेको छ । महानगरपालिकाबाट प्रवाह हुने सेवा असोज १ देखि दमकल भवन, पोखरा सभागृह, विभिन्न महाशाखाबाट सुरु गर्ने तयारी भइरहेको पोखरा–२५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, सार्वजनिक लेखा समिति, कानुन शाखा, सरसफाइ शाखा, सूचना प्रविधि शाखा पोखरा–९ शान्ति वनस्थित दमकल भवनमा राख्ने तयारी छ ।

प्रशासन, राजस्व र सहरी विकास महाशाखा, भण्डार, तथ्यांक विपद् र उजुरी फर्छ्यौट, अभिलेखीकरण, पञ्जीकरण, लेखा शाखा र महानगर प्रहरी बल पोखरा सभागृहमा रहने छन् । आर्थिक प्रशासन महाशाखा प्रमुखको कार्यकक्ष र कोष प्रशासन शाखाको सेवा पोखरा–१७ ड्यामसाइडस्थित शिक्षा महाशाखाको भवनबाट प्रवाह हुनेछ । शिक्षा महाशाखा त्यहीँ यथावत् रहनेछ ।

न्युरोडस्थित पूर्वाधार महाशाखा भएको भवनबाट पूर्वाधार, आन्तरिक लेखा परीक्षण शाखा, योजना, भूमि प्रशासन, खरिद शाखाका सेवा दिइनेछ । पोखरा–७ जनप्रिय मार्गस्थित आर्थिक विकास महाशाखाबाट आर्थिकसहित सहकारी शाखा, श्रम तथा रोजगार शाखा ९सामी कार्यक्रमसमेत० र व्यवसाय प्रवर्द्धन केन्द्रसम्बन्धी काम हुनेछन् ।

वडा कार्यालबाट प्रवाह हुने सेवा पनि असोज १ देखि नै सुरु गर्ने तयारी छ । पोखरा–५, ८, १७ का वडा कार्यालय हालै नयाँ भवनमा सरेका थिए । आन्दोलनकै क्रममा यी वडा कार्यालय पनि पूर्ण क्षतिग्रस्त छन् । १० दिनअघि नयाँ ठाउँमा सारिएको पोखरा–१७ को वडा कार्यालय आगजनी र तोडफोडले ध्वस्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *