भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा क्षति ग्रस्त भवन पुनर्निमाणको लागि नेपाली काँग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले १० लाख रुपैया सहयोग गर्ने भएको छ । मुख्यमन्त्रीसमेत रहेका दलका नेता सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको वैठकले उक्त निर्णय गरेको हो ।
वैठकमा पुनर्निमाणका लागि कोष स्थापना गर्न प्रदेश सरकारलाई आग्रह गर्दै १० लाख रुपैया सहयाग गर्ने निर्णय भएको संसदीय दलका प्रमुख सचेतक नन्दराम न्यौपानेले जानकारी दिए ।
आन्दोलनका क्रममा तोडफोड तथा ध्वंसात्मक गतिविधिको निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न समेत वैठकले माग गरेको छ ।
‘जेन्जी आन्दोलनका क्रममा उठाएका सामाजिक संजालमाथिको नियन्त्रण हटाउनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, सुशासनको प्रत्याभूति गर्नुपर्ने जस्ता मुद्दाप्रति दल प्रतिबद्ध छ’ उनले भने । यस सन्दर्भमा नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले मितव्ययिता कायम गर्न चालु खर्च घटाउने, दरबन्दी कटौती गर्ने, कार्यालय समायोजन गर्नेजस्ता सुशासनमैत्री कार्यको प्रशंसा गर्दै अझ जनमैत्री र उत्तरदायी ढंगले अघि बढ्न आग्रह गरेको छ ।
आन्दोलनका क्रममा गण्डकी प्रदेशभित्र सार्वजनिक तथा निजी क्षेत्रका भौतिक संरचना र यातायातका साधनमा ठूलो क्षति भएको हुँदा त्यसको यकिन विवरण तत्काल तयार गरी पुनर्निर्माणको योजना अघि ल्याउन प्रदेश सरकारलाई आग्रह गरिएको छ ।
नेपाली जनताले लामो संघर्षपछि निर्माण गरेको नेपालको संविधानकै मार्गबाट मुलुकको समुन्नति र नयाँ पुस्ताको चाहना पूरा हुन सक्ने भएकाले संविधानको रक्षा तथा सुदृढीकरण गर्नु सबैको कर्तव्य भएको बैठकले निष्कर्ष निकालेको छ ।
मुलुकमा रोजगारी सिर्जना र राजस्व उत्पादनमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन योगदान दिइरहेको निजी क्षेत्रमाथि भएको गम्भीर आक्रमणको भत्र्सना गर्दै लगानीमैत्री वातावरण पुनःस्थापित गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक पहल गर्न प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।