इजरायलमा हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा पुष्टि गरेको छ ।
इजरायली रक्षा बल (आईडीएफ) का एक अधिकारीले आज बिहान इजरायलको स्थानीय समय अनुसार साढे ७ बजे विपिन जोशी जिवित नभएको जानकारी गराएका हुन् ।
उक्त जानकारी इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई भिडियो कन्फरेन्समार्फत् दिइएको राजदूत पण्डितले बताएका छन् ।
गाजामा हमासको आक्रमण सुरु भएको केही दिनमै सम्पर्कविहीन बनेका विपिन जोशीलाई इजरायली सेनाले बन्धक सूचीमा राखेको थियो । लामो समयदेखि उनको अवस्था अज्ञात रहँदा परिवार र सम्पूर्ण नेपाली समुदाय चिन्तित बनेका थिए ।
राजदूत पण्डितका अनुसार, इजरायली अधिकारीहरूले अब विपिनको मृत्युबारे थप विवरण र प्रमाणिकरण प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।
नेपाल सरकारले यसअघि नै विपिनको खोजी र उद्धारका लागि इजरायल सरकारसँग निरन्तर समन्वय गरिरहेको जनाएको थियो ।