एमालेले सोध्यो माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण

प्रतिपत्र संवाददाता (काठमाण्डौ)

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेको छ । कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी हुँदा नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्न सक्ने भन्दै एमालेले २७ सांसदलाई स्पष्टीकरण सोधेको हो ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई स्पष्टीकरण पत्र पठाइसकिएको जानकारी दिए । भट्टराईका अनुसार उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । संघीय सांसदलाई पठाइएको पत्रमा छुट्टै राजनीतिक दलको अभ्यास गरेको भन्दै ‘तपाईंलाई संघीय संसद् सदस्यबाट किन नहटाउने ?’ भनेर सोधिएको छ ।

स्पष्टीकरण सोधिनेमध्येमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने छन् । सोमबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनियुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । साभार कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *