कोरस डान्सर ढल्दा बेवास्ता गरेको आरोपको ‘प्रसाद २’ टीमले गर्यो खण्डन, सामाजिक संजालमा आएको टिप्पणी मिथ्या

कास्कीको माछापुच्छे गाउँपालिकामा करिब ३१ दिन लगाएर छायाँकन गरिएको चलचित्र ‘प्रसाद २’ गएको एक हप्ता देखि विवादमा मुछिएको छ । चलचित्र टीममाथी कोरस डान्सर सपना महर्जन ढल्दा बेवास्ता गरेको आरोप लगाइएको छ । जसको खण्डन गर्दै आइतबार पोखरामा ‘प्रसाद २’ टीमले पत्रकार सम्मेलन नै गरेको छ ।
‘प्रसाद २’ को एउटा गीतको छायाँकनका लागि पोखराबाट ९ जना डान्सर बोलाइएको थियो । जसमा सपना महर्जन पनि थिइन् । गीतको छायाँकनको क्रममा महर्जन बेहोस भएर ढलेपछि पनि चलचित्र टीमले कुनै वास्ता नगरेको आरोप सामाजिक संजाल टिकटक मार्फत गिभिना मगरले लगाएकी थिइन् ।
छायाँकनको समयमा डान्सरहरुलाई गरिएको बेवास्ता, खाना समयमा नपाएको गुनासो, उपचारमा सहयोग समेत नगरेको अवस्थालाई चित्रित गर्दै सामाजिक अभियन्ता समेत रहेकी गिभिना ‘प्रसाद २’ टीम माथि खनिएकी थिइन् । जसको खण्डन गर्दै ‘प्रसाद २’ टीमले सामाजिक सञ्जालमा आएका सबै कुरा मिथ्या भएको जनाएको छ ।
चलचित्रका निर्देशक सुदर्शन थापाले चलचित्रलाई असफल बनाउन आफुहरु माथी गम्भिर प्रकृतिको आरोप लगाइएको बताएका छन् । ‘बहिनी सपना महर्जनको विषयलाई लिएर जसरी सामाजिक संजालमा टिप्पणी गरिएको छ । यस प्रति हाम्रो ध्यानाकर्षण भएको छ । कोरस डान्स गर्नुभएकी बहिनीको स्वास्थ्य लाभका लागि चलचित्र टीमले सक्दो सहयोग गरिरहेको छ’ उनले भने ।
थापाले सत्यता के हो त्यसको सोधखोज नगरीकन ‘प्रसाद २’ को विषयमा फैलाइएको अफवाह गलत भएको उल्लेख गरेका छन् । पौष ३० गते साढे ४ बजे सुटिङ सकेर होटलको रुम तर्फ लागेपछि सपना बहिनीको स्वास्थ्य अवस्था अचानक बिग्रेको खबर आफुले पछि मात्रै जानकारी पाएको अभिव्यक्ति उनको छ । ‘सपना बहिनीको स्वास्थ्य अवस्था सुटिङको समय सम्म ठिक थियो । सुटिङ सकेर प्याकअप गरिसकेपछि हामी सबै बसोबास गरिरहेको होमस्टे तर्फ लाग्यौं । बेलुका खाना खाइसकेपछि डान्सर बहिनीहरु आफु बसीरहेको होमस्टेमा रमाइलो गर्नुभएको रहेछ । जहाँ नाच्ने गाउने कार्यक्रम पनि भइरहेको थियो । सोहि क्रममा बहिनी सपना महर्जन अचानक ढल्नुभएछ । अन्य बहिनीहरुद्वारा सपना बहिनीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी पाएपछि कलाकार प्रकाश घिमिरे दाईले नै चिसोका कारण होला भन्दै तेल तताउन लगाएर मालिस गर्न लगाउनुभयो । त्यति गर्दा पनि ठीक नभएपछि राती नै चलचित्रकै टीमले गाडीको व्यवस्था गरेर उपचारका लागि पोखरा पठाएको थियो । अनि कसरी चलचित्र टीमले वास्ता गरेन भन्ने हुन्छ ?’ उनले भने ।
थापाले सपना महर्जनको स्वास्थ्य प्रति आफु र सम्पूर्ण टीम नै चिन्तित रहेको बताएका छन् । साथै महर्जनको उपचारका लागि आर्थिक सहयोगको समेत व्यवस्था गर्न लागेको जानकारी गराएका छन् । चलचित्र टिमले महर्जनकै उपचारका लागि नेपाल नृत्य संघलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको छ । तर त्यो पैसा उपचार गराइरहेकी सपनाको हातमा पुगेको छैन । यस विषयमा थापा भन्छन्,‘नेपाल नृत्य संघले अन्य संघसंस्थाबाट पनि फन्ट कलेक्सन गरिरहेको छ । हामी पनि लागिरहेका छौं । बहिनीको उपचार पोखरामा हुन सक्दैन भने काठमाडौंमा लगेर उपचार गराउन समेत हामी पछाडि फर्किनौं । एउटा कलाकारको स्वास्थ्य माथि खेलवाड गरेर हामीलाई चलचित्र चलाउनु छैन । बहिनीको उपचारमा कुनै कसर बाँकी राख्दैनौं । तर कृपया मिथ्या समाचार र सुचनाको पछाडी नलाग्न अनुरोध गर्दछु ।’, उनले भने ।
कलाकार प्रकाश घिमिरेले पनि सपना महर्जनको स्वास्थ्यलाई लिएर ‘प्रसाद २’ टीम माथि लगाइएको आरोप गलत भएको बताएका छन् । ‘म आफै प्रत्यक्ष त्यहाँ उपस्थित छु । हामीले नै कोर्डिनेसन गर्दै सपना बहिनीलाई उपचारका लागि पोखरा पठाएका छौं । अनि कसरी चलचित्र टीमले केही गरेन भन्ने कुरा आयो । मलाई अचम्म लाग्यो । सामाजिक संजालमा ‘प्रसाद २’ लाई लिएर आएका विषयमा सत्यता छैन ।’, उनले भने ।
चलचित्रका निर्माता सुभाष थापाले सपना महर्जनको स्वास्थ्य प्रति आफु गम्भिर रहेको बताएका छन् । ‘कोरस डान्सर सपना बहिनीको स्वास्थ्य प्रति म र मेरो टीम गम्भिर छ । उहाँको उपचार पोखरा हुन सक्दैन भने पनि काठमाडौं लगेर हामी उपचार गराउँछौं । तर सामाजिक संजालमार्फत हामी माथि लगाइएको आरोपको भने कुनै सत्यता छैन ।’,उनले भने ।
सपनाकी साथी एलिसा तामाङले पनि चलचित्र ‘प्रसाद २’ टीमको सहयोगमा नै आफुहरुले महर्जनलाई उपचारका लागि पोखरा ल्याएको बताएकी छिन् । ‘सपना पहिले देखि नै बिरामी हुँदै आएको हो । त्यो दिन एक्कासी उसको टाउको दुख्यो । बोमिट गर्न थाल्यो । चिसो होला भन्दै हामीले तेल तताएर पैतला मालिस गर्यौं । तर केही सुधार नभएपछि चलचित्र प्रसाद २ को टीमको सहयोगले नै पोखरा ल्यायौं । रातको समय भएकाले हामीले घरमा नै उसलाई लग्यौं । घरमा जाँदा उल्टै हामीलाई खानामा केही मिसाएको दोष लगाइयो । खासमा सपनाको खानपिनमा पहिले देखि नै समस्या भएकाले स्वास्थ्य अवस्था जटिल बनेको रहेछ । जुन कुरा मेडिकल रिर्पोटले पनि साबित गर्ला ।’,उनले भनिन् । चलचित्र ‘प्रसाद २’ नयाँ वर्ष बैसाख १ मा रिलिज हुँदैछ । जसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *