समाज

बिग्रिदै भारत–क्यानडाको कुटनीतिक सम्बन्ध

क्यानडामा गतवर्ष भएको सिख पृथकतावादीको हत्यालाई लिएर कायम तनाव बढ्दै जाँदा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध खस्किदै गएको छ ।क्यानडाले भारतसँग आइतबार गरेको कूटनीटिक संवादमा खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा क्यानड...

बिग्रिदै भारत–क्यानडाको कुटनीतिक सम्बन्ध

क्यानडामा गतवर्ष भएको सिख पृथकतावादीको हत्यालाई लिएर कायम तनाव बढ्दै जाँदा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध खस्किदै गएको छ ।
क्यानडाले भारतसँग आइतबार गरेको कूटनीटिक संवादमा खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा क्यानडास्थित भारतीय उच्च आयुक्त सञ्जयकुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञ संलग्न रहेको आरोप लगाएपछि सम्बन्ध थप चिसिएको हो ।

सम्बन्धमा दरार आएपछि भारतले दिल्लीमा रहेका ६ क्यानडेली उच्च कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ भने क्यानडाले पनि ६ जना भारतीय कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको छ ।

भारतीय विदेश मन्त्रालयले क्यानडाको आरोपप्रति कडा आपत्ति जनाएको छ । उसले क्यानडाका कार्यवाहक उच्चायुक्त स्टिवर्ट रस ह्वीलर, उपउच्चायुक्त प्याट्रिक हेबर्ट, प्रथम सचिव मेरी क्याथरिन जोली र अधिकारीहरू इयान रस डेभिड ट्राइट्स, एडम जेम्स चुइप्का र पाउला अर्जुएलालाई १९ अक्टोबर (शनिबार) राति १२ बजेभित्र भारत छाड्न भनेको छ ।

भारतले क्यानडालाई दिल्लीस्थित आफ्ना कूटनीतिक कर्मचारी फिर्ता लैजान र भिसा सेवा निलम्बन गर्नसमेत आग्रह गरेको छ । भारतको विदेश मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा क्यानडाको आरोप सिख पृथकतावादीबाट प्रभावित रहेको उल्लेख छ । जवाफमा क्यानडाले उच्च आयुक्तसहित ६ भारतीय कूटनीतिज्ञलाई देश छाड्न भनेको छ । भारतले भने सुरक्षाको कारण देखाएर आफैंले आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाएको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले क्यानडा सरकारको प्रतिबद्धतामाथि विश्वास नरहेको भन्दै कूटनीतिज्ञ र अधिकारीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको जनाएको छ ।

१८ जुन २०२३ मा क्यानडाको ब्रिटिस कोलम्बियाको सरीस्थित गुरुद्वारानजिकै गोली हानेर खालिस्तान समर्थक निज्जरको हत्या गरिएको थियो । भारतले निज्जरलाई आतंकवादी सूचीमा राखेको थियो । सिख समुदायका केही समूहले भारतमा छुट्टै देश ‘खालिस्तान’ को माग गर्दै आएका छन् ।

क्यानडामा ठूलो संख्यामा सिख समुदायका मानिस छन् । ‘खालिस्तान’ का पक्षमा क्यानडामा बेलाबेला प्रदर्शन हुने गरेको छ । त्यस्तो गतिविधि र प्रदर्शनमाथि नियन्त्रण गरिनुपर्ने र त्यसमा संलग्नलाई पक्राउ गरेर आफूलाई बुझाउनुपर्ने माग भारतले क्यानडासमक्ष राख्दै आएको छ । तर क्यानडा सरकारले आफ्नो देशमा अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै त्यस्ता गतिविधिमा रोक लगाउन मानेको छैन ।

यही विषयमा दुई देशबीच केही वर्षयता कूटनीतिक संवाद जारी रहेकै बेला क्यानडामा खालिस्तान समर्थक निज्जरको हत्या भएको थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत वर्ष सेप्टेम्बरमा संसद्मा बोल्दै निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए । भारतले त्यसको प्रमाण मागेको थियो । त्यसपछि दुई देशबीच कूटनीतिक तथा राजनीतिक तहमा तनाव बढेको थियो । दुवै देशले एकअर्काका केही कूटनीतिज्ञलाई देश निकाला गरेका थिए । पछिल्लोसमय भने दुवैले एकअर्काको उच्चायुक्तलाई नै देश निकाल्न लागेका हुन्  ।

सम्बन्धित समाचार