आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल २ हजार ६५५ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ५ बजेसम्म परेका मनोनयनमध्ये सबैभन्दा बढी उम्मेदवारी रुपन्देही जिल्लामा परेको छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा ३५ र क्षेत्र नम्बर ३ मा ३७ जनाले चुनावी प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गराएका छन् ।
सबैभन्दा कम उम्मेदवारी हिमाली जिल्ला मुस्ताङमा परेको छ, जहाँ ४ जनाले मात्र मनोनयन दर्ता गरेका छन् । यस्तै, अर्को हिमाली जिल्ला मनाङमा ५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये पुरुषको संख्या २ हजार ३५२ र महिलाको संख्या ३०३ रहेको छ । प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत १६५ सिटका लागि मंगलबार देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको हो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक तर्फबाट निर्वाचित हुने कानुनी व्यवस्था छ । समानुपातिक तर्फका उम्मेदवारको मनोनयन यसअघि नै गत १३ र १४ पुसमा भइसकेको छ । प्रत्यक्षतर्फको मनोनयनका लागि आयोगले माघ ६ गते मंगलबारको समय तोकेको थियो । यो निर्वाचनले आगामी ५ वर्षका लागि देशको नयाँ नेतृत्व र संसद्को स्वरूप तय गर्नेछ ।
निर्वाचन आयोगले प्राप्त सबै मनोनयनको रुजु गर्ने र दाबी विरोधको प्रक्रियापछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ । मंगलबार भएको मनोनयन दर्तासँगै देशभर चुनावी रौनक बढेको छ ।

