काठमाडौँका सुकुमबासी बस्तीमा बस्नेहरू साँच्चै गरिब हुन् कि होइनन् भनेर जाँच्दा एउटा अचम्मको तथ्य बाहिर आएको छ । सरकारी अधिकारीहरूले त्यहाँका घरमुलीहरूको नागरिकता नम्बर मालपोतको सरकारी डाटा (भू-सेवा)सँग जाँचेर हेरेका थिए ।
त्यसरी हेर्दा आधाभन्दा धेरै व्यक्तिको नाममा पहिले नै अन्यत्र जग्गा जमिन रहेको भेटियो। यो त केवल घरमुलीको नाममा देखिएको विवरण मात्र हो। यदि उनीहरूका श्रीमती वा छोराछोरीको नाममा भएको जग्गा पनि खोज्ने हो भने, त्यहाँ बस्ने झन्डै ९० प्रतिशतभन्दा धेरै मानिसहरूको आफ्नै घर-जग्गा रहेको अनुमान गरिएको छ ।
यसले के देखाउँछ भने, सुकुमबासी बस्तीमा बस्नेमध्ये ७ देखि १० प्रतिशत पनि वास्तविक सुकुमबासी छैनन् । बाँकी ९० प्रतिशतभन्दा धेरै त अन्यत्र घर-जग्गा भएर पनि सहरको सरकारी जग्गा कब्जा गरेर बस्ने ‘हुने-खाने’ हरू नै रहेको पुष्टि भएको छ । यसले देखाउँछ- सुकुमबासीको नाममा काठमाडौँका नदी किनारहरू वर्षौँदेखि ‘हुकुमबासी’ हरूको कब्जामा छन्।