हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एंव् व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नक्साल क्षेत्रबाट पक्राउ गरेकाे हाे ।
गोल्छालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पुर्जी दिएको र अनुसन्धानका लागि बिहिबार नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा गोल्छा पक्राउ परेका हुन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा प्राप्त हुन आएकोमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।
विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । जसमा गोल्छासहितका ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ । सोही प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरेको बुझिएको छ ।
व्यवसायी शेखर गोल्छा काठमाडौंबाट पक्राउ