राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकाेटीले पार्टीको अधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई संगठनलाई निखार्ने, नीति परिमार्जन गर्ने र कार्यकर्ताको व्यवहार तथा क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् ।
रास्वपाको गण्डकी प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले राजनीति कुनै एक व्यक्तिका लागि नभई सबैको योगदानबाट पार्टी निर्माण हुने प्रक्रिया भएको उल्लेख गरे । देशको भविष्य निर्माण गर्ने उद्देश्यसहित आफूहरू रास्वपामा आबद्ध भएको बताउँदै उनले पार्टीले छोटो अवधिमै “चिरचिर पसिना आउने गरी” मेहनतपूर्ण काम गरेको दाबी गरे ।
पार्टी शुद्धीकरणको आवश्यकता औँल्याउँदै उनले यसलाई स्वास्थ्य उपचारसँग तुलना गरे । “एकपटक खायौँ, मोटायौँ भने उपचारका क्रममा खानपान नियन्त्रण गर्नुपरेजस्तै पार्टीलाई पनि समयअनुसार सुधार र शुद्धीकरण गर्नुपर्छ,” उनले भने ।
महामन्त्री बुर्लाकोटीले स्थानीय तह तथा प्रदेश निर्वाचन नजिकिँदै गर्दा पार्टी संगठनलाई थप बलियो बनाउन अधिवेशन आयोजना गरिएको स्पष्ट पारे। अधिवेशन हतारमा नगरिएको भन्दै उनले अब सबै नेता–कार्यकर्ता महाधिवेशनको तयारीमा केन्द्रित हुनुपर्ने बताए।
उनका अनुसार प्रदेशका आयोग, विभाग तथा महाधिवेशन प्रतिनिधिसम्बन्धी व्यवस्थामा समेत सुधार गरिएको छ। वैशाख १५ गतेपछि विभिन्न विभाग तथा आयोगमा नियुक्त भएका व्यक्तिलाई महाधिवेशन प्रतिनिधि बन्न नदिने नीति अपनाइएको जानकारी दिँदै उनले उपयुक्त व्यक्तिहरू अवसरबाट वञ्चित नहून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए। यद्यपि चुनाव नलड्ने सदस्यहरूले भने महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था गरिएको उनले स्पष्ट पारे।
पार्टीभित्र गुटबन्दीलाई कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिँदै बुर्लाकोटीले प्रतिस्पर्धा व्यक्तिगत रूपमा हुन सक्ने तर त्यसलाई समूहगत रूपमा नलिन आग्रह गरे। “पार्टीले गुट बनाउँदैन र गुट बन्न पनि दिँदैन। गुटबन्दी गर्नेहरूलाई आवश्यक परे स्पष्टीकरण सोध्ने र कारबाही गर्ने नीति अवलम्बन गरिनेछ,” उनले भने।
आगामी निर्वाचनमा टिकट वितरण सम्बन्धमा बोल्दै उनले पार्टीलाई योगदान दिने र कार्यसम्पादनमा उत्कृष्ट देखिएका व्यक्तिलाई स्पष्ट विधि र मापदण्डका आधारमा अवसर दिइने बताए। “पार्टीको नेतृत्वमा पुगेकै आधारमा निर्वाचनको टिकट सुनिश्चित हुँदैन, कार्यसम्पादन नै मुख्य आधार हुनेछ,” उनको भनाइ थियो।
अधिवेशनबाट निर्वाचित भएर जिम्मेवारीमा आउने नेताहरूलाई नमातिई संयमित ढंगले काम गर्न आग्रह गर्दै उनले जिम्मेवारीमा नआउने कार्यकर्तालाई पनि पार्टीले विभिन्न भूमिकामार्फत अवसर प्रदान गर्ने बताए।
अधिवेशन सफल बनाउन गण्डकी प्रदेशका नेता–कार्यकर्ताको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै बुर्लाकोटीले मतदान प्रक्रियामा धैर्यता, अनुशासन र स्वविवेक प्रयोग गर्न आग्रह गरे। सकेसम्म सहमतिमै नेतृत्व चयन गर्न सुझाव दिँदै उनले मतगणनाका क्रममा अनावश्यक होहल्ला नगर्न अनुरोध गरे।
अन्त्यमा उनले जिल्ला र पालिकाको समृद्धिका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए।

