गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजित ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ (३८.५६ प्रतिशत), पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ (६०.६८ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ (०.७६ प्रतिशत) छुट्याइएको छ।
सार्वजानिक गरेको बजेट अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात क्षेत्रमा ११ अर्ब ६६ करोड, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब १६ करोड, ऊर्जा, खानेपानी तथा जलस्रोततर्फ ४ अर्ब ७७ करोड, वन मन्त्रालयका लागि १ अर्ब २१ करोड, स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड र कृषितर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। बहुवर्षीय आयोजनाका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रदेशमै छपाइ गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै, राइड सेयरिङको नियमन तथा व्यवस्थापनका लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले बताए ।
चालु आर्थिक वर्ष २०८२र८३ मा प्रदेशले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको थियो। त्यसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

