गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ मा पर्यटन, कृषि र औद्योगिकीकरणलाई मुख्य प्राथमिकतामा राखेको छ । सोमबार गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले प्रदेश सभामा बजेट पेस गर्दै घरेलु मदिराको ब्रान्डिङ तथा गाँजा खेतीसम्बन्धी अनुसन्धानका लागि आवश्यक रकम विनियोजन गरिने जानकारी दिए । गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालनका लागि संघ सरकारसँग समन्वय गरिने पनि उनले बताए ।
यस्तै धौवादी फलाम खानी सञ्चालनका विषयमा संघ सरकारसँग सहकार्य गरिने उल्लेख गर्दै प्रदेश सरकारले यसका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री शेरचनले उल्लेख गरेका छन् । यस्तै मनास्लु, अन्नपूर्ण र धौलागिरी क्षेत्रमा नयाँ पर्यटकीय पदमार्गको अध्ययन गरिने तथा त्यसका लागि आवश्यक बजेट व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

