राम्दी नाकाबाट पर्यटकलाई स्वागत: स्याङ्जामा सुरक्षित पर्यटन सचेतना अभियान सुरु

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पोखरा सडकखण्ड हुँदै स्याङ्जा प्रवेश गर्ने प्रमुख नाका राम्दी क्षेत्रमा पर्यटक लक्षित स्वागत तथा सुरक्षित पर्यटन सचेतना अभियान सुरु गरिएको छ।

भारतसहित विभिन्न देशबाट स्याङ्जा प्रवेश गर्ने पर्यटकलाई लक्षित गर्दै सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यबारे जानकारी समेटिएका पम्प्लेट वितरण गरी स्वागत गरिएको हो। साथै सुरक्षित यात्रा, पर्यटकमैत्री व्यवहार तथा वातावरण संरक्षणसम्बन्धी सन्देश पनि प्रवाह गरिएको छ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले अभियानले स्याङ्जाको पर्यटन प्रवर्द्धन, पर्यटकको सुरक्षित यात्रा तथा जिल्लाको सकारात्मक पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

शसस्त्र प्रहरी बल गुल्म वालिङका प्रहरी निरीक्षक दीपेन्द्र पौडेलले सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड साँघुरो तथा धेरै घुम्ती भएको क्षेत्र भएकाले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि अभियान प्रभावकारी बन्ने बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख नरेन्द्रबहादुर शाहीले यात्रु तथा पर्यटकलाई ट्राफिक नियमको पालना गर्न, सवारी साधन सावधानीपूर्वक सञ्चालन गर्न तथा सुरक्षित यात्राका लागि आवश्यक सचेतनामूलक सामग्री वितरण गरिएको जानकारी दिए।

अभियानमा “सबैका लागि, सधैंका लागि वातावरणमैत्री पर्यटन” भन्ने अवधारणालाई आत्मसात गर्दै पर्यटकलाई स्वच्छता कायम राख्न, फोहोर व्यवस्थापनमा ध्यान दिन, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न तथा जिम्मेवार पर्यटन व्यवहार अपनाउन आग्रह गरिएको छ।

सुरक्षित यात्रा, जिम्मेवार पर्यटन र हार्दिक आतिथ्यतासहित स्याङ्जामा स्वागत छ” भन्ने मूल सन्देशका साथ सञ्चालन गरिएको अभियान अस्थायी प्रहरी चौकी राम्दीको सहयोग तथा समन्वयमा निरन्तर सञ्चालन गरिने जनाइएको छ।

अभियानबाट उत्साहित बनेका भारतीय पर्यटकहरूले यस्ता कार्यक्रमले नेपाल भ्रमणलाई थप सहज, सुरक्षित र स्मरणीय बनाउने प्रतिक्रिया दिएका छन्। उनीहरूले स्याङ्जा र पोखरासहितका पर्यटकीय गन्तव्यको भ्रमणमा उपयोगी जानकारी प्राप्त भएको बताएका छन्।

यस अभियानले स्याङ्जालाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

One thought on “राम्दी नाकाबाट पर्यटकलाई स्वागत: स्याङ्जामा सुरक्षित पर्यटन सचेतना अभियान सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *