समाज

BYD कर छली प्रकरणमा कडा कदम : प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारी जिम्मेवारीमुक्त

बजेट सार्वजनिक हुनुअघि सूचना चुहावट भई भएको भनिएको BYD गाडी आयातसम्बन्धी कर छली प्रकरणमा सरकारले कडा कदम चालेको छ ।

PPP मोडलमा पश्चिम सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइँदै, २० अर्ब रुपैयाँ लगानी हुने

बजेट सार्वजनिक हुनुअघि सूचना चुहावट भई भएको भनिएको BYD गाडी आयातसम्बन्धी कर छली प्रकरणमा सरकारले कडा कदम चालेको छ । करिब २५० करोड रुपैयाँ बराबरको राजस्व छली भएको आशंकासँग जोडिएको घटनामा प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट मुक्त गरिएको स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार प्रशासनभित्रबाट संवेदनशील सूचना चुहावट भएको तथा त्यसका आधारमा कर दर परिवर्तनअघि ठूलो संख्यामा सवारीसाधन भित्र्याइएको आशंका गरिएको छ । यस प्रकरणमा आयात गरिएका ७७४ वटा BYD गाडी सशस्त्र प्रहरी बलको नियन्त्रणमा राखिएको बताइएको छ ।

सरकारले घटनाको गम्भीरता मध्यनजर गर्दै सम्बन्धित कर्मचारीलाई तत्काल जिम्मेवारीबाट हटाएर थप छानबिन अघि बढाएको जनाएको छ । अन्य संलग्न व्यक्ति तथा निकायको भूमिकाबारे समेत अनुसन्धान जारी रहेको छ ।

राजस्व प्रशासन र भन्सार प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको यस घटनालाई हालसम्मकै ठूलो कर छली प्रकरणमध्ये एकका रूपमा हेरिएको छ । अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा दोषी देखिने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने सरकारी स्रोतले जनाएको छ ।

यस प्रकरणले बजेट तथा कर नीतिसम्बन्धी गोप्य सूचनाको सुरक्षा, भन्सार प्रशासनको पारदर्शिता र राजस्व चुहावट नियन्त्रणका विषयमा व्यापक बहस सिर्जना गरेको छ ।

सम्बन्धित समाचार