वैदेशिक रोजगार ठगीमा कारबाही तीव्र, ३ महिनामै पीडितलाई ३० करोडभन्दा बढी क्षतिपूर्ति

वैदेशिक रोजगार ठगीका घटनामा कारबाहीलाई तीव्र बनाउँदै वैदेशिक रोजगार विभागले पछिल्लो तीन महिनामा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत्रसम्मको नौ महिनाको अवधिमा संस्थागत उजुरी तथा व्यक्तिगत मुद्दासम्बन्धी ८८२ वटा मुद्दामा अनुसन्धान सम्पन्न गरिएको छ । सो अवधिमा पीडितलाई कुल १२ करोड ६७ लाख ३९ हजार रुपैयाँ क्षतिपूर्ति भराइएको छ ।

यस्तै, पछिल्लो तीन महिनामा मात्र संस्थागत उजुरी र व्यक्तिगत मुद्दाका १ हजार ४ वटा प्रकरण मेलमिलापमार्फत टुंग्याइएको छ। यस क्रममा वैदेशिक रोजगार ठगीका पीडितलाई ३० करोड ७ लाख ४२ हजार ३ सय ४ रुपैयाँ क्षतिपूर्ति दिलाइएको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो तीन महिनाको अवधिमा मुद्दा अनुसन्धान तथा फर्छ्यौट दर २४१.५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, वैदेशिक रोजगार ठगीका पीडितले क्षतिपूर्ति प्राप्त गर्ने दर ६७२.८ प्रतिशतले बढेको विभागको तथ्यांकले देखाएको छ ।

विभागले वैदेशिक रोजगार क्षेत्रलाई थप सुरक्षित, पारदर्शी र जिम्मेवार बनाउन ठगीका घटनामा अनुसन्धान, कारबाही र पीडितलाई शीघ्र क्षतिपूर्ति उपलब्ध गराउने कार्यलाई अझ प्रभावकारी बनाउँदै लगिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *