राष्ट्रिय सतर्कता केन्द्रद्वारा अनुगमन र कारबाही तीव्र

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले प्रशासनिक ढिलासुस्ती र अनुशासनहीनता अन्त्य गर्न अनुगमन तथा कारबाहीलाई तीव्र बनाएको छ।

केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म दर्ता भएका १ हजार २९८ उजुरीमध्ये १ हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फर्छ्यौट भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले बढी हो।

यस अवधिमा कार्यालय अनुगमनको संख्या पनि झन्डै तीन गुणाले बढाएर ९२४ पुर्‍याइएको केन्द्रले जनाएको छ। अनुगमनका क्रममा आचारसंहिता उल्लंघन गर्ने १० हजार २६८, तोकिएको पोसाक नलगाउने ६४५ र कार्यकक्षमा अनुपस्थित ९१ गरी कुल ११ हजार ४ जना कर्मचारीमाथि कारबाही गरिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा ३१८ वटा कार्यालय अनुगमन गरी २ हजार ७७५ जना कर्मचारीमाथि कारबाही गरिएको थियो।

केन्द्रले सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शङ्कास्पद सम्पत्तिसम्बन्धी सूचना भए जानकारी गराउन आग्रह गरेको छ। त्यस्ता सूचना राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा फोन गरेर दिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *