नुवाकोटको त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो

त्रिशूली नदीमा रहेका पुलहरूमा बाढीका कारण क्षति पुगेपछि सडक सञ्जालबाट अलग बनेको नुवाकोटको त्रिशूली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडिएको छ।

भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुल पारीबाट त्रिशूली नदीको दायाँ किनार हुँदै सडक सुचारु गरिएको हो।

सडक कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सञ्चालनमा आएको मन्त्री लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

त्रिशूली नदीमा आएको बाढी तथा पुलहरूमा भएको क्षतिका कारण यस क्षेत्रका नागरिक सडक सम्पर्कबाट प्रभावित भएका थिए। सडक सञ्चालनमा आएसँगै नुवाकोटका धेरै नागरिकको सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको छ।

सडक खुलेसँगै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता हुने अपेक्षा गरिएको छ। साथै, स्थानीयवासीलाई दैनिक आवतजावत तथा आवश्यक सेवासुविधा प्राप्त गर्न समेत राहत पुग्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *