असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनालाई तीव्र बनाउन गण्डकी प्रदेश सरकारले काम अघि बढाएको छ।
विपद्बाट गण्डकीका बागलुङ, म्याग्दी र मनाङमा हालसम्म २१ जनाको मृत्यु भएको छ भने केही व्यक्ति अझै बेपत्ता रहेको प्रदेश सरकारले जनाएको छ। घाइतेको उपचार तथा बेपत्ताको खोजी कार्य जारी छ।
विपद्पीडितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन नेपाली सेनाको समन्वयमा तीन वटा हेलिकप्टर परिचालन गरिएको छ। हिजो र आज गरी हेलिकप्टरमार्फत १४३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रदेश सरकारले जनाएको छ।
विपद्का कारण विस्थापित भएका नागरिकलाई तत्काल राहत तथा सुरक्षित आवासको व्यवस्था गर्न जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। आवश्यकताका आधारमा बागलुङ, मनाङ र पर्वतमा त्रिपाल, टेन्ट तथा स्वास्थ्य सामग्री पठाइएको छ।
घरबारविहीन भएका नागरिकलाई निजी आवास निर्माणका लागि सम्बन्धित स्थानीय विपद् व्यवस्थापन समितिमा जानकारी गराउन आग्रह गरिएको छ। स्थानीय तहबाट प्राप्त विवरण र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा रहेको निजी आवास निर्माणसम्बन्धी संयुक्त कोषबाट तोकिएको मापदण्डअनुसार घर निर्माणका लागि रकम उपलब्ध गराइनेछ।
विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले ११ वटै जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा न्यूनतम १० लाख रुपैयाँ नघट्ने गरी बजेट व्यवस्था गरेको छ। प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ। तत्काल आवश्यक राहत तथा उद्धारका काममा उक्त कोषबाट खर्च गर्न र रकम अपुग भए पुनः माग गरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
सडक र पुल पुनः सञ्चालनमा प्राथमिकता
बाढीपहिरोका कारण प्रदेशभर ११ वटा झोलुङ्गे पुल, ६ वटा पक्की पुल र ४३ वटा सडकखण्ड अवरुद्ध भएका छन्। अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन जिल्लास्थित पूर्वाधार विकास कार्यालयलाई परिचालन गरिएको छ।
मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला सडक तथा बेँसीसहर–मनाङ सडक सञ्चालनका लागि संघीय सरकारसँग समन्वय भइरहेको प्रदेश सरकारले जनाएको छ। चाडपर्वका समयमा सडक सम्पर्क विच्छेदका कारण नागरिकले थप समस्या भोग्न नपरोस् भनेर आवश्यक वैकल्पिक मार्ग सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।
मनाङमा चिकित्सकसहित स्वास्थ्य सामग्री
विपद्बाट प्रभावित मनाङमा आवश्यक औषधिसहित दुई जना चिकित्सक र एक जना नर्सलाई हेलिकप्टरमार्फत पठाइएको छ। प्रदेश मातहतका अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न तथा सम्भावित विपद्लाई मध्यनजर गर्दै पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
प्रदेश मातहतका पूर्वाधार, खानेपानी तथा सरसफाइ, सिँचाइ, स्वास्थ्य, कृषि तथा भेटेरिनरीलगायत कार्यालयलाई आफ्नो कार्यक्षेत्रमा तत्काल गर्नुपर्ने काम अघि बढाउन निर्देशन दिइएको छ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद्पीडितको उद्धार, उपचार, राहत, सुरक्षित आवास, सडक तथा पूर्वाधार पुनः सञ्चालन र दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारले विपद्को समयमा नागरिकलाई जोखिमयुक्त क्षेत्रमा नजान, संयमित रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।




