प्रदेश

पहिरो हटाएर रामबजारमा यातायात सुचारु, शुक्रबारसम्म डुम्रे–बेँसीशहर–चामे सडक पूर्ण सञ्चालन गर्ने तयारी

अविरल वर्षाका कारण क्षति पुगेको डुम्रे–बेँसीशहर–चामे सडकखण्डअन्तर्गत बेँसीशहर–चामेको रामबजारमा पहिरो हटाएर यातायात सुचारु गरिएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता

अविरल वर्षाका कारण क्षति पुगेको डुम्रे–बेँसीशहर–चामे सडकखण्डअन्तर्गत बेँसीशहर–चामेको रामबजारमा पहिरो हटाएर यातायात सुचारु गरिएको छ। सडकखण्डका अन्य प्रभावित स्थानमा पनि पहिरो तथा लेदो हटाउने काम तीव्र पारिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सडक अवरुद्ध भएका स्थानमा आवश्यक जनशक्ति र उपकरण परिचालन गरी तत्काल यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताएका छन्। उनका अनुसार तिमाङदेखि कोतोसम्मका विभिन्न स्थानमा पहिरो हटाउने काम जारी छ भने पूर्ण रूपमा क्षति पुगेका स्थानमा वैकल्पिक व्यवस्थासहित सडक सञ्चालनको तयारी भइरहेको छ।

फापरखेतमा स्थानीयको जग्गा कटिङ गर्नुपर्ने र क्षतिपूर्तिसम्बन्धी देखिएको समस्या पालिका तथा जिल्ला प्रशासनसँगको समन्वयमा समाधान गरिएको छ। खोत्रोमा पूर्ण रूपमा क्षति पुगेको सडकखण्डमा पछाडिबाट कटिङ गरी टेवा पर्खाल निर्माण गरेर साँझसम्म यातायात सुचारु गर्ने तयारी गरिएको मन्त्री लम्सालले बताए।

खोत्रो नजिकैको भीरमा नेपाली सेनासँगको समन्वयमा ब्लास्टिङको तयारी भइरहेको छ। त्यस्तै, गरछापमा थुप्रिएको लेदो तथा पहिरो हटाउने काम जारी रहेको छ।

बाढीले बगाएका काठेपुल भएका स्थानमा डाइभर्सन निर्माण गरी आगामी शुक्रबारसम्म डुम्रे–बेँसीशहर–चामे सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको मन्त्री लम्सालले जानकारी दिए।

सम्बन्धित समाचार