पोखराको अधेरीकुनादेखि फेवातालसम्म बग्ने फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना हटाउने कार्य पोखरा महानगरपालिकाले पुनः अगाडि बढाएको छ ।
खोलाघरभित्र निर्माण गरिएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाहरूले आफैं हटाउने भन्दै पोखरा महानगरपालिकासँग मौखिक सहमति गरे पनि प्रतिबद्धता अनुसार संरचना नहटाएपछि महानगरपालिकाले आज (असोज १५) देखि आफैं हटाउने कार्य थालेको हो।
महानगरपालिकाले फिर्केखोलाको संरक्षण, विकास तथा संवर्द्धन गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानअन्तर्गत खोलाघरभित्र बनेका संरचना हटाउने कार्य अघि बढाएको जनाएको छ।
महानगरपालिकाले सम्बन्धित संरचनाधनी, फिर्केखोला आसपासका स्थानीय बासिन्दा, सरोकारवाला तथा सम्पूर्ण नगरवासीलाई संरचना हटाउने कार्यमा आवश्यक सहयोग र सहजीकरण गरिदिन आग्रह गरेको छ।
महानगरपालिकाले फिर्केखोलाको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको भन्दै अभियानमा सहयोग गर्न अपिलसमेत गरेको छ।




