जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले नवजात शिशु फालेर फरार भएकी आमालाई पक्राउ गर्नुका साथै कारागारबाट फरार भएका कैदीलाई नियन्त्रणमा लिएको छ। त्यस्तै, पटका बिक्री गर्ने एक किशोरलाई नियन्त्रणमा लिनुका साथै ध्वनि प्रदूषण गर्ने मोटरसाइकल र शान्तिसुरक्षामा असर पार्ने गतिविधिविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले २०८३ कात्तिक ११ गते आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न घटनाको अनुसन्धान र हालसम्मको प्रहरी कारबाहीबारे जानकारी दिएको हो।
राजेन्द्र पौडेलको मृत्यु प्रकरणमा पाँच जना पक्राउ
कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसमा २२ वर्षीय राजेन्द्र पौडेलको मृत्यु प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कात्तिक ९ गते बिहान करिब ८ः२० बजे पौडेल आफ्नै घरदेखि करिब ५० मिटर पूर्वतर्फ बारीको पाटामा मृत अवस्थामा फेला परेका थिए। घटनाबारे स्थानीयबाट सूचना प्राप्त भएपछि प्रहरी चौकी धम्पुसको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा माछापुच्छ्रे गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुनलाई पक्राउ गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार कात्तिक ८ गते मृतक पौडेलको मोबाइल हराएको विषयमा आफ्ना भिनाजु विष्णुप्रसाद गौतमसँग विवाद भएको थियो। त्यसक्रममा मोबाइल नदिएको भन्दै पौडेलले भिनाजुको मोबाइल फुटाइदिएको प्रहरीको विवरणमा उल्लेख छ।
त्यसपछि मदिरा सेवन गरिरहेका व्यक्तिहरूसँग पनि पौडेलको सामान्य विवाद भएको र लिलबहादुर पुनको मौरीको घारमा लात्ती हानेको विषयमा विवाद बढेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
विवादका क्रममा हँसियाले प्रहार हुँदा मिलन विकको घाँटी र आशिष गुरुङको खुट्टामा चोट लागेको बताइएको छ। त्यसपछि सबै आ–आफ्नो घर गएकोमा राति करिब ११ः५९ बजे आशिष गुरुङले विक्रम पुन र लिलबहादुर पुनलाई फोन गरी बोलाएको प्रहरीको विवरणमा उल्लेख छ।
प्रहरीका अनुसार पाँचै जना मिलेर पौडेलको घरमा गई भाटा, मुक्का तथा लात्तीले प्रहार गरी घाइते अवस्थामा बारीको पाटामा लगेर छाडेका थिए। पौडेल राति आमासँग सिरक मागेर बारीमै ओढेर सुतेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनास्थलबाट बाँसका दुईवटा भाटा, एउटा दाउरा, एउटा हँसिया, बियरको बोतलका टुक्रा र एउटा पानीको बोतल बरामद गरिएको छ।
पक्राउ परेका पाँचै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नवजात शिशु फाल्ने आरोपमा १९ वर्षीया महिला पक्राउ
पोखरा महानगरपालिका–६ लेकसाइडमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले १९ वर्षीया निरुता नेपालीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कात्तिक ३ गते साँझ करिब ७ः४० बजे लेकसाइडस्थित स्ट्रीट नम्बर ८ को भित्री गल्लीमा रहेको टिनले छाएको टहराको शौचालयको च्याम्बरभित्र नवजात शिशु मृत अवस्थामा फेला परेको थियो।
शौचालयमा पानी बाहिर ननिस्किएपछि घरधनीले च्याम्बर खोलेर हेर्दा सालनालसहितको शिशु फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलको मुचुल्का तयार गरी शिशुको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको थियो।
अनुसन्धानका क्रममा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका–६ लेकसाइडमा भाडामा बस्दै आएकी निरुता नेपालीको संलग्नता रहेको आशंकामा खोजी गरिएको प्रहरीले जनाएको छ। उनलाई कात्तिक ४ गते राति करिब १ः१५ बजे पोखरा महानगरपालिका–२१ लुकुन्स्वाराबाट पक्राउ गरिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार निरुता र राजन साकीबीच २०७८ सालमा सामाजिक परम्पराअनुसार विवाह भएको थियो। उनीहरूबीच २०८२ माघमा दुई जिउकी भएको विषयमा जानकारी भएपछि भेटघाट नभएको र निरुता लेकसाइडमा एक्लै बस्दै आएको विवरणमा उल्लेख छ।
उक्त घटनामा निरुताविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट कात्तिक ४ गतेदेखि लागू हुने गरी १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कारागारबाट फरार कैदी पक्राउ
कास्की कारागारबाट फरार भएका ३७ वर्षीय सन्तोष जलारी पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–१८ खपौदी निवासी जलारी ज्यान र डाँकासम्बन्धी कसुरमा जन्मकैदको सजाय भुक्तान गरिरहेका बेला कात्तिक १ गते राति कारागारबाट फरार भएको प्रहरीले जनाएको छ।
कात्तिक २ गते बिहान कैदी गणना गर्दा उनी फेला नपरेपछि खोजी सुरु गरिएको थियो। गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खोजी गर्ने क्रममा उनलाई कात्तिक ३ गते दिउँसो करिब ३ः५५ बजे पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित न्यू झरना गेस्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
उनलाई पक्राउ गरी कारागार ऐनसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पटका बिक्री गर्ने १७ वर्षीय किशोर नियन्त्रणमा
पोखरा महानगरपालिका–१० अमरसिंह खेलमैदान क्षेत्रमा पटका बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले १७ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको छ।
कात्तिक ९ गते दिउँसो करिब १२ः४० बजे प्राप्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पटका बिक्री गरिरहेको अवस्थामा किशोरलाई नियन्त्रणमा लिएको हो।
पोखरा महानगरपालिका–९ नयाँबजार निवासी ती किशोरको कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका पटका बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद सामग्रीमा मुसरानी पटका ६५ प्याकेट, मिनी बुलेट पटका १८ प्याकेट, चक्री पटका सात प्याकेट, आलुबम पटका पाँच प्याकेट, अनार पटका पाँच प्याकेट, सानो रकेट पटका तीन प्याकेट, २ इन १ पटका एक प्याकेट र ७ सटर पटका पाँच प्याकेट रहेका छन्।
किशोरलाई वडा प्रहरी कार्यालय रामबजारको नियन्त्रणमा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
अपरेसन ३६५ अन्तर्गत ९३६ मोटरसाइकल नियन्त्रणमा
ध्वनि प्रदूषण गर्ने, मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने तथा समाजमा अशान्ति र त्रास सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्न कास्की प्रहरीले सञ्चालन गरेको ‘अपरेसन ३६५’लाई निरन्तरता दिएको छ।
प्रहरीले २०८२ असोज २७ गते साँझदेखि सुरु गरेको अभियानअन्तर्गत हालसम्म ९३६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। तीमध्ये ३६७ वटालाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको छ भने अन्यलाई ट्राफिक जरिवाना गरिएको छ।
कात्तिक १० गते साँझदेखि कात्तिक ११ गते बिहानसम्म थप नौवटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, अभियानका क्रममा ३६ जनालाई नियन्त्रणमा लिई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेर कारबाही गरिएको प्रहरीको विवरणमा उल्लेख छ।
स्वीप अपरेसनमा ३८० जना र ८१ सवारीसाधन नियन्त्रणमा
कास्की प्रहरीले लागूऔषध सेवन, सार्वजनिक शान्तिमा खलल, गुण्डागर्दी, सार्वजनिक सवारीमा जबर्जस्ती चढ्ने प्रयास, झोला तान्ने तथा अफलाइन पठाओ र इनड्राइभमार्फत बढी रकम असुल्ने जस्ता गतिविधि नियन्त्रण गर्न सञ्चालन गरेको ‘स्वीप अपरेसन’बाट हालसम्म ३८० जना र ८१ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार २०८३ वैशाख ९ गते साँझदेखि विभिन्न समयमा सञ्चालन गरिएका अभियानबाट नियन्त्रणमा लिइएकामध्ये १२ जनाविरुद्ध लागूऔषधसम्बन्धी मुद्दा चलाइएको छ।
त्यस्तै, ४८ जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको र ४३ जनालाई ट्राफिक कारबाही गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक सुरक्षा, शान्तिसुव्यवस्था कायम राख्ने तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले अनुसन्धान र निगरानीलाई निरन्तरता दिएको जनाएको छ।




