प्रदेश

चुमनुब्रीबाट एकैपटक दुई महिलाको हेलिकप्टरमार्फत हवाई उद्धार, एकले जन्माइन् १ केजीको शिशु

गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाबाट एकैपटक गर्भवती र सुत्केरी गरी दुई महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ।

चुमनुब्रीबाट एकैपटक दुई महिलाको हेलिकप्टरमार्फत हवाई उद्धार, एकले जन्माइन् १ केजीको शिशु

गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाबाट एकैपटक गर्भवती र सुत्केरी गरी दुई महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ। जटिल स्वास्थ्य अवस्थाका कारण ज्यान जोखिममा परेपछि उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।

चुमनुब्री गाउँपालिका–३, सानो फिलिमकी ३१ वर्षीया सुन्तली गुरुङले २८ हप्ताको गर्भावस्थामै शिशुलाई जन्म दिएपछि उनको नवजात शिशुसहित हवाई उद्धार गरिएको हो। सिर्दिवास स्वास्थ्य चौकीमा उपचारका लागि भर्ना भएकी गुरुङले २०८३ कात्तिक २२ गते बिहान ८ बजेर ७ मिनेटमा छोरालाई जन्म दिएकी थिइन् ।

समय नपुग्दै जन्मिएको शिशुको तौल जम्मा एक हजार ग्राम (एक किलो) मात्रै रहेको थियो। स्वास्थ्य चौकीमा आवश्यक थप उपचार सम्भव नभएपछि शिशुको जीवन जोखिममा पर्न सक्ने अवस्था देखिएको थियो। त्यसपछि गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत आमा र शिशुको उद्धार गरी काठमाडौंस्थित कान्ति बाल अस्पताल पुर्‍याइएको छ। शिशुलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

यसैगरी, चुमनुब्री गाउँपालिका–३, सिर्दिवास देवल गाउँकी २३ वर्षीया गर्भवती सुप्रिया गुरुङको पनि हवाई उद्धार गरिएको छ। अनुमानित सुत्केरी हुने मिति १२ दिन नाघिसकेको अवस्थामा स्वास्थ्य चौकीमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था जटिल बनेपछि ज्यान जोखिममा पर्न सक्ने देखिएको थियो।

उनलाई पनि सोही हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पुर्‍याएर थप उपचारका लागि भर्ना गरिएको छ।

दुवै महिलाको उद्धार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, सिंहदरबारको समन्वय तथा गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सहजीकरणमा गरिएको हो।

उद्धार तथा उपचार प्रक्रियामा विशेषज्ञ चिकित्सकीय परामर्श प्रदान गर्ने मातृशिशु मितेरी प्रादेशिक अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तथा प्रमुख कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रेखा पौडेल, गोरखाका प्रमुख जिल्ला अधिकारी, प्रदेश अस्पताल गोरखा, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा, चुमनुब्री गाउँपालिका र सिर्दिवास स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको महत्वपूर्ण भूमिका रहेको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकृत एवं हवाई उद्धार कार्यक्रमका फोकल पर्सन बुद्धिसागर अधिकारीका अनुसार दुर्गम क्षेत्रका जटिल स्वास्थ्य अवस्थाका महिलालाई समयमै उपचारको पहुँचमा पुर्‍याउन समन्वय गरी उद्धार गरिएको हो।

मन्त्रालयले उपचाररत नवजात शिशु, सुत्केरी तथा गर्भवती महिलाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

सम्बन्धित समाचार