गण्डकी प्रदेश सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले सोध्यो स्पष्टीकरण

Share this post :

Facebook
Twitter
WhatsApp

पार्टीको निर्णयलाई उल्लंघन गर्दै संसदीय दलका नेतासमेत रहेका थापाले सत्तारुढ दल एमालेलाई नै साथ दिने भएपछि राजमोले उनलाई स्पष्टीकरण सोधेको प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए ।

उनका अनुसार सांसद थापाले पार्टी केन्द्रीय कार्यालयलाई स्पष्टीकरण दिन लागेका छन् । पार्टीले उनलाई एक घण्टाको समय दिएको छ । ‘पार्टीभित्र नियम, विधि, विधान हुन्छ,’ उनले भने, ‘नियममा नचल्ने जोकोहीलाई पनि पार्टीले कारबाही गर्छ । जनमोर्चाले अहिलेसम्म बेइमान गरेको थिएन । पहिलोपटक ठूलो दुर्घटना भयो ।’

‘राजमो बोलेपछि गर्छ’ भन्ने जुन अडान थियो त्यसमा दाग लागेको उनको भनाइ थियो । पार्टीको निर्देशनअनुसार सचेतक पियारी थापाले सोमबार हस्ताक्षर गर्न ह्रवीप जारी गरेकी थिइन् । पियारी र अर्का सांसद खिमविक्रम शाहीले मंगलबार नै हस्ताक्षर गरिसकेका छन् । गण्डकीमा निर्णायक भूमिकामा रहेका राजमोका ३ सांसद छन् । उनीहरुको सहयोग जता हुन्छ उतै सरकार गठन हुने अवस्था रहेको छ । गठबन्धनलाई सहयोग गर्नका लागि राजमोका केन्द्रीय महासचिव मनोज भट्टको नेतृत्वमा केन्द्रीय नेताहरु यतिबेला पोखरामा छन् । भट्टकै नेतृत्वमा दुई दिन बसेको वैठकमा सांसद थापाले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

अविश्वासको प्रस्ताव संसद्बाट सामना गर्नुअघि नै वैशाख २६ मा मुख्यमन्त्रीको पदबाट पृथ्वीसुव्वा गुरुङले राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई सोहीदिन ३ दिनको समय दिएकी थिइन् ।

नयाँ सरकार गठनको लागि गठबन्धनलाई ३१ जनाको हस्ताक्षर पुर्‍याउनुपर्छ । गण्डकीमा कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना छन् । तीन दिनभित्र विपक्षी दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ । प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्नेछन् । गठबन्धनले बहुमत जुटाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीमा गुरुङलाई नियुक्त गर्नेछिन् । यसरी मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई अगाडि बढाएको छ । थापालाई राजमोले कारबाही गरे बहुमतका लागि ३० जनाको हस्ताक्षर आवश्यक पर्छ । तत्काल पार्टीले कारबाही गरेपछि सभामुखले सूचना जारी गरे मुख्यमन्त्रीमा आज कृष्णचन्द नेपालीले नै सपथ लिने सम्भावना रहेको कांग्रेस सांसद कुमार खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *