गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीबाट निष्काशित भएका छन् । शनिवार बसेको पार्टीको केन्द्रीय वैठकले थापालाई केन्द्रीय सदस्यबाट आजिवन र साधारण सदस्यको लागि एक बर्षको लागि निष्काशन गरिएको पार्टीका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।
‘हामीले उहाँलाई पार्टीको सवै जिम्मेवारीबाट हटाएका छौ’ उनले भने, ‘यसभन्दा पहिला पनि कारबाही गर्दै दलको नेताबाट हटाएका छौ ।’ उनले सांसद पदबाट पनि कारबाही गर्नको लागि कानुनी प्रकृया लामो भएकाले पहल भइरहेको बताए । पार्टीमा आँच आउने गरि काम गरेको र पार्टीको निर्देशन समेत उलंघन गरेकाले कारबाही गरिएको भट्टको भनाई छ । पार्टीले ह्रवीप जारी गर्दा समेत थापाले जुनसुकै काम पनि उल्घंन गर्दै आएको उनले बताए । विपक्षी गठबन्धनले गण्डकी प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा राजमोको साथ थियो । अविश्वासको प्रस्तावमाथी मतदान गर्ने पार्टीले निर्णय गरेको थियो । अविश्वासको प्रस्तावमाथी मतदान हुने अघिल्लो दिनमै पृथ्वीसुव्वा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामासंगै प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनको लागि आह्रवान गरेकी थिइन् । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा सरकार गठनको लागि बहुमत (३१ सदस्यको) को हस्ताक्षर चाहिन्छ । गण्डकीमा कांग्रेसका १५, एमालेका २८, माओवादी केन्द्रका १२ (सभामुखसहित) राजमोका ३ र जसपाका २ सदस्य छन् । सरकार गठनको लागि निर्णयक भुमिकामा रहेको राजमोका थापाले एमाले पार्टीलाई सहयोग गरेका थिए । उनले मुख्यमन्त्रीमा गुरुङ नै हुनुपर्ने बताएका थिए । नयाँ सरकार गठनको लागि हस्ताक्षर संकलन गर्ने क्रममा समय छ हस्ताक्षर गर्ने भन्दै तर्किदै हिडेका थापाले हस्ताक्षर गर्न मानेका थिएनन् । महासचिव भट्टको नेतृत्वमा बसेको पार्टी वैठकले बारम्बार निर्देशन दिदा पनि नयाँ सरकार गठनको पक्षमा उनि उभिएनन् । जनमोर्चाका उनको हस्ताक्षर नपुगेको भन्दै प्रदेश प्रमुख पौडेलले संसदमा सहभागी सवैभन्दा ठूलो दलको हैसियतले एमालेका दलका नेता गुरुङलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । अहिले गण्डकीमा गुरुङ नेतृत्वको अल्पमतको सरकार छ । वैशाख २९ मा शपथ लिएका मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
