गण्डकीमा माधव नेपाल निकट सांसद शुन्य

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमालेबाट फुटेर बनेको नया पार्टी नेकपा (एकीकृत समाजवादी) रोज्दै मंगलबार बाग्मती प्रदेशका १२ जना सांसद दस्ताखत गरे । सोही दिन सुदुरपश्चिममा १० सांसदले पनि नेकपा एसमा रहेको प्रदेशसभा सचिवालयलाई जानकारी दिए । तर, गण्डकी नेकपा एस निकट सांसद संख्या शुन्य रहेको छ । बाग्लुङका इन्द्रलाल सापकोटा माधवकुमार नेपाल पक्षकै मानिएपनि अहिले उनी नेकपा एमालेमै छन् ।
गण्डकी प्रदेशमा पहिलेदेखी नै ओली लाइन बलियो देखिएको थियो । एक मात्र सांसद सापकोटा नयाँ दलबाट आफ्नो भविष्य नरहेको भन्दै ओली खेमामै उभिएका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका मात्रै २७ सांसद छन् । नेकपा एमालेको संसदीय दलका उपनेता किरण गुरुङले गण्डकीमा कुनै पनि सांसद नयाँ दलमा नरहेको बताए । ‘उता कोही पनि जादैनौ’ उनले भने, ‘हामी २७ जना सांसद नेकपा एमालेमै रहन्छौ ।’ उनले अन्य प्रदेशमा नेकपा एमालेका सांसद तितरमितर भएपनि गण्डकीमा भने एक ढिक्का रहेको बताए ।

साढे ३ बर्ष सरकारमा रहेको नेकपा एमाले अहिले गण्डकीमा प्रमुख प्रतिपक्षको भुमिकामा रहेको छ । गण्डकीका पूर्व अर्थमन्त्री समेत रहेका गुरुङले जनताको सपना पुरा गर्न पनि नेकपा एमाले एक हुन जरुरी रहेको बताए । ‘हिजो हामीले धेरै सपना बाड्यौ’ उनले भने, ‘कतिपय समाधान भए, कतिपय बाँकी नै छन् । हामी नै फुटे जनताको समस्या कस्ले बुझ्छ ?’ उनले गण्डकीमा नेकपा पार्टी बलियो रहेको दावी गरे ।
गण्डकीमा एमाले ठूलो दल भएकाले पनि गण्डकीका जनताको जिम्मेवारी आफूमा बढी रहेको उनको तर्क छ । भन्छन, ‘हामी सरकारमै हुदाँ पनि धेरै कार्यक्रम ल्याएका छौ । विकास निर्माण, स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटन, कृषि लगायतका कार्यक्रम कार्यान्वयन अवस्थामा छन् । यी कार्यक्रम पुरा गर्नु हाम्रै दायीत्व हो । सरकारमा नहुदैमा कार्यक्रम अधुरो छाड्न हुदैन । हामी जनताको माग सम्बोधन गर्दै अधुरा कार्यक्रम पुरा गर्न लागेका छौ ।’ उनले गण्डकीमा पहिला पनि माधव पक्षको सांसद नरहेको बताए । उनका अनुसार एमाले नेतृत्वको सरकारले विश्वासको मत लिदा पनि २७ मत नै प्राप्त भएको बताए ।
माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटिमा रहेका पनि अहिले नेकपा एमालेमै रहेको बताउदै उनले कतिपय फर्किएको र कतिपय फर्किने क्रममा रहेको बताए । यसविषयमा आफूहरु छलफल गरेको र पुरानै घरमा रहन आग्रह गरेको उनको भनाई छ । गण्डकीबाट ३ जना केन्द्रिय सदस्य र ३ जना केन्द्रीय सांसद मात्र नयाँ दलमा आवद्ध रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *