नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले नेपाली कांग्रेसको घोषित १४ औं महाधिबेशनमा सभापति पदमा उम्मेदवारी दिने भएका छन् । गुटरहित कांग्रेस बनाउने अभियानलाई सार्थक बनाउन आफूले सभापति पदमा उम्मेदावरी दिन लागेको पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले बताए ।
‘गुटैगुट सृजना हुँदा कांग्रेस कमजोर बन्दै गएको छ’ उनले भने । नेपाली कांग्रेस स्याङ्जाले जिल्ला सदरमुकाम स्थित पार्टी कार्यालयमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले, गुटको अन्त्यसंगै नेपाली कांग्रेसलाई देशकै ठूलो दल बनाउन आफू उम्मेदवार बन्न लागेको समेत दाबी गरे । कांग्रेसलाई सबैको पार्टी बनाउन हिमाल, पहाड र मधेशमा बस्ने आदिबासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकलाई एक साथमा लिएर अगाडी बढ्ने उनको प्रतिवद्धता छ । ‘सबै क्षेत्र, वर्गलाई पार्टीमा प्रतिनिधित्व गराउने पहिलो दल नेपाली काँग्रेस हो’ उनले भने, ‘सनातन धर्म सहितको धार्मिक स्वतन्त्रता हाम्रो एजेण्डा हो ।’
आफ्नो जन्मभूमि स्याङ्जा भएकाले आफूले आफ्नै जन्मभुमिबाट कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषण गर्दै वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूलाई साथ दिनुपर्ने उनको जिकिर थियो । प्रधानमन्त्री देउवाको सक्रियता भएमा आफू सर्वसहमतिमा सभापति बन्न सक्ने समेत उनले बताए । राजा ज्ञानेन्द्रले तानाशाहि शासन गर्दा समेत आफू कार्यबहाक सभापति भएका बेला ११ औं महाधिबेशन गराएर ईमान्दारिता पूर्वक जेलमा रहेका देउवालाई सर्वसहमतिमा सभापतिमा चयन गराएको उनले स्मरण गराए । ‘मलाई विश्वास छ, त्यो ईमान्दारिता र संगठनमा गरेको योगदानको मुल्याङ्कन गरिन्छ’ उनले भने । वर्तमान सरकार गठबन्धनको भएका कारण प्रधानमन्त्रीलाई सरकार संचालनमा बढि व्यस्तता हुनुपरेको नेता श्रेष्ठले बताए । कांग्रेसको सभापति भए सरकारलाई सफल बनाउन र आम नागरिकको आवश्यकता पुरा गराउन आफूले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । गठबन्धनकै भएपनि राम्रो काम गर्दै सरकार अगाडी बढेको उनको भनाई थियो ।
२०१६ मा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका श्रेष्ठ चारपटक मन्त्री बनिसकेका छन् भने, पार्टीको उपसभापति हुदै २ बर्ष कार्यवहाक सभापति समेत भइसकेका छन् । ०६१ मा शेरबहादुर देउवा जेल पर्दा उनले का.सभापति भई ११ औ महाधिवेशन समेत सम्पन्न गरेका छन् । ‘शेरबहादुरजीलाई विनाविवाद सभापति बनाउन मैले भुमिका खेले’ उनले भने, ‘अहिले मलाई सहयोग नगरी आफै उम्मेदवारी बनेपनि म पछि हट्दिन । पार्टीको पुरानो र वरिष्ठ सदस्य भएकाले पनि अव पालो मेरो हो ।’ पटकपटक आफू १० बर्ष जेलजिवन विताएको बताउदै उनले जिल्लाको नेतृत्व समाल्दै गण्डकीको र केन्द्रमा पनि कार्यवहाक बन्ने अवसर मिलेको हुदा“ अवको पालो आफ्नै भएको दावी गरे ।
‘६ दशक लामो राजनीति गरे’ उनले थपे, ‘माओवादीसंग १२ बुँदे सहमति गर्दा पनि हस्ताक्षर गरेको छ । मेरै नेतृत्वमा राजा ज्ञानेन्द्र विरुद्धको आन्दोलन भयो । विपीको चेला हुँ, गणेमान र किसुनजीको प्रिय पात्र हुँ क कसरी नेतृत्वबाट पछि हटु ? २०१९ मा पुर्वपश्चिम राजमार्ग नेपालीको भाग्यरेखा निबन्ध लेखेर फस्ट हुदाँ राजा महेन्द्रबाट गोल्ड मेडल दिने कुरा थियो । तानाशाहीको हातबाट लिन्न भनेर अस्वीकार गरे ।’ युवाको साथ लिई महिलालाई निर्णयक भूमिकामा पु¥याउने उनले दावी गरे । कांग्रेसको चारतारे झण्डामध्ये एउटा तारा धर्म स्वतन्त्रताको रहेको बताउदै उनले भने, ‘धर्म निरपेक्षताको म विरोधी हुँ । यसलाई सच्याएर धर्म स्वतन्त्रता बनाउनुपर्छ ।’ मान्दै आएको रितिरिवाज मनाउन पाउनुपर्ने उनको तर्क थियो ।