नेपाली काँग्रेसका केन्द्रीय नेता एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको गृहजिल्ला स्याङ्जाका ११ पालिकामध्ये नौ वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । अरु दुई पालिकामा आइतबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ ।
चापाकोट नगरपालिकामा विक्रमबहादुर सारु सभापतिमा निर्विरोध चयन भएका छन । नेपाली काँग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठले आगामी महाधिवेशनमा केन्द्रीय सभापति पदका लागि लागि दाबी गरिरहेका छन् । तर आफ्नै गृहनगर पुतली बजारमा उनको समूह पराजित भएको छ ।
श्रेष्ठले आफ्नो गृहनगर पुतलीबजार नगर समितिको सभापतिमा आफ्नै नाति विक्रान्त कुमार श्रेष्ठ ‘सुवर्ण’ लाई उम्मेदवार बनाए पनि विजयी गराउन सकेनन् । शनिबार सम्पन्न निर्वाचनमा सुवर्णलाई सुरजकुमार अधिकारीले दोब्बरभन्दा बढी मतले पराजित गरे ।
अधिकारी २३२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी सुवर्णले जम्मा १०८ मतमात्र पाए । उपसभापति, सचिव र सहसचिवमा पनि श्रेष्ठ पक्ष निराश हुनु परेको छ । त्यसैगरी भीरकोट नगरपालिकामा एक मतको अन्तरले यामप्रसाद अधिकारी निर्वाचित भएका छन् । अधिकारीले १०० मत र प्रतिस्पर्धी दिपेन्द्र केसीले ९९ मत पाएका थिए ।
अर्जुनचौपारी गाउँपालिकाको सभापतिमा विष्णु काफ्ले निर्वाचित भएका छन् । उनले ५८ मत ल्याए भने उनका प्रतिस्पर्धी बद्री पौडेलले ३४ र फणिनारायण अर्यालले २० मत प्राप्त गरे ।
चापाकोटको सभापतिमा विक्रमबहादुर सारु सर्वसम्मत रुपमा चयन भएका छन् । यस्तै, उपसभापतिमा सुन्दर भण्डारी र परशुराम लम्साल, सचिवमा विश्वास पुरी र माधव गैरे, सहसचिवमा विश्व भट्टराई र रामु बस्याल, कोषाध्यक्षमा प्रविणा आचार्य निर्वाचित भएका छन् ।
त्यसैगरी हरिनासको सभापतिमा राजु थापा निकट टोपबहादुर भुजेल निर्वाचित भएका छन् । उनले ६१ मत हासिल गरे । भुजेलका प्रतिस्पर्धी विक्रमबहादुर चन्द कृष्णले ५३ मत प्राप्त गरेका थिए ।
यस्तै, उपसभापतिमा विष्णुमाया काफ्ले र जगदीशप्रसाद कोइराला, सचिवमा नन्दलाल खनाल र ताराप्रसाद अर्याल, सहसचिवमा प्रसुन मगर र सुशील खाण निर्वाचित भएका छन् । गल्याङ नगरपालिकाको सभापतिमा श्याम बस्याल निर्वाचित भएका छन् । उनले १८२ मत ल्याए । उनका प्रतिस्पर्धी हरि खनालले ६७ मत पाएका थिए ।
त्यसैगरी आँधीखोला गाउँपालिकाको सभापतिमा नरेन्द्र पौडेल ६१ मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नविन ढकालले ४७ मत हासिल गरे । बिरुवा गाउँपालिकाको सभापतिमा डोलराज पोख्रेल निर्वाचित भएका छन् । उनले ७० मत पाए भने उनका प्रतिस्पर्धी युवराज केसीले ६३ मत पाए । त्यसैगरी फेदीखोला गाउँपालिकाको सभापतिमा महेन्द्र थापा ५२ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लालबहादुर अधिकारीले २५ मत पाए ।