लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा

Share this post :

Facebook
Twitter
WhatsApp

पेप ग्वार्डिओलाको व्यवस्थापनमा म्यानचेस्टर सिटीले तेस्रो पटक प्रिमियर लिगको उपाधि उचालेको छ

लिभरपुल र चेल्सीले इंग्लिस प्रिमियर लिगको अन्तिम दिन अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन् । आइतबार भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि २–० को विजय पायो । तर चेल्सीलाई एस्टन भिल्लाले २–१ ले पराजित गर्‍यो ।
इतिहाद रंगशालामा आइतबार इंग्लिस प्रिमियर लिग उपाधि उचाल्दै म्यानेचस्टर सिटीका खेलाडी । तस्बिर स् एपी
शीर्ष चारको दौडमा रहेको एफए कप च्याम्पियन लेस्टर सिटी घरेलु मैदानमा टोटेनहमसँग ४–२ ले पराजित भएपछि चेल्सीको च्याम्पियन्स लिगमा स्थान पक्का भएको हो । ३८ खेलको समाप्तिमा लिभरपुल ६९, चेल्सी ६७ र लेस्टर ६६ अंकसहित क्रमशः तेस्रोदेखि पाँचौं स्थानमा रहे । प्रिमियर लिगको शीर्ष चार टोलीले अर्को सिजनको च्याम्पियन्स लिगमा खेल्न पाउने प्रावधान छ । म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको यसअघि नै पहिलो दुई स्थान पक्का भएको थियो ।
कप्तान जिनी वाइजनाल्डमलाई बिदाइ गरेको खेलमा लिभरपुलबाट साडियो मानेले ३६ र ७४ औं मिनेटमा गोल गरेका थिए । प्रमुख खेलाडीलाई चोटका कारण गुमाएको लिभरपुलले पछिल्लो पाँच खेल जित्दै अविश्वसनीय पुनरागमन गरेको हो । त्यसअघि टोली छैटौं स्थानमा थियो । अन्तिम खेलमा पनि गोल गर्न नसकेपछि मोहम्मद सलाहले सर्वाधिक गोलका लागि दिइने गोल्डेन बुट गुमाउन पुगे ।
टोटेनहमका ह्यारी केन २३ गोलसाथ सर्वाधिक गोलकर्ता बने । लेस्टरका जेमी भार्डीले दुईपल्ट पेनाल्टीमा गोल गर्दै दुवै हाफमा आफ्नो टोलीलाई अग्रता दिलाएको बीचमा केनले टोटेनहमबाट गोल फर्काएका थिए । टोटेनहमबाट केनको यो अन्तिम खेल हुन सक्नेछ । ७६ औं मिनेटमा लेस्टरका गोलरक्षक कास्पर स्माइकलले आफ्नै पोस्टमा गोल गर्नु खेलको निर्णायक क्षण बन्यो । गारेथ बेलले ८७ र ९६ औं मिनेटमा गोल गर्दै स्पर्सको जित सुनिश्चित गरे ।
भिल्ला पार्कमा बटरान्ड ट्राओरेले गोल गर्दै घरेलु टोलीलाई ४३ औं मिनेटमा अग्रता दिलाए । गोलरक्षक इडुवार्ड मेन्डी घाइते भएपछि चेल्सीलाई अर्को आघात पर्‍यो । उनले शनिबार हुने च्याम्पियन्स लिग फाइनल खेल्ने शंकाको घेरामा परेको छ । अनबर अल घाजीले दोस्रो हाफको सुरुमै गोल गर्दै भिल्लाको अग्रता दोब्बर बनाए । बेन चिडवालले गोल गरी चेल्सीको आस जगाएका थिए । ८९ औं मिनेटमा कप्तान सिजर अज्पिलिकुइटाले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा झरेको थियो ।
च्याम्पियन भइसकेको सिटीले एभरटनलाई ५–० ले पराजित गर्दै ट्रफी उचाल्यो । सिटीको जर्सीमा अन्तिम खेल खेलिरहेका सर्जियो अगुइरोले अन्तिम दुई गोल गरे । त्यसअघि केभिन डी ब्रुयन, ग्याब्रियल जेसस र फिल फोडेनले गोल गरेका थिए । पेप ग्वार्डिओलाको व्यवस्थापनमा सिटीले तेस्रो पटक प्रिमियर लिगको उपाधि उचालेको हो । सिटीले ८६ अंक बटुल्यो, जुन दोस्रो स्थानको युनाइटेडभन्दा १२ अंक बढी हो । उल्भसलाई उसैको मैदानमा २–१ ले पराजित गरी युनाइटेड प्रिमियर लिगमा घरेलु मैदानबाहिर यस सिजन अपराजित रह्यो ।
नीकोलस पेपेले दुई गोल गरेपछि आर्सनलले ब्राइटनलाई २–० ले हरायो । आठौं स्थानमा सिजन टुंग्याएको आर्सनल सन् १९९५–९६ यता पहिलोपल्ट युरोपेली प्रतियोगितामा छनोट हुन असफल रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *