नेपालका लागि युरोपेली युनियनका राजदुत नोना डेप्रेबाट यस धवलागिरी प्राविधिक शिक्षालयको भ्रमण गरी शिक्षालयले सञ्चालन गरेका विविध गतिविधीका वारेमा जानकारी लिएकी छन् ।
युरोपेली युनियनको वित्तिय तथा प्राविधिक सहयोगमा सञ्चालित Strengthening Employer Engagement in CTEVT schools Project (SEECS) कार्यक्रम अन्तरगत शिक्षालयले आयोजना गरेको सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका बोल्दै राजदुत नोनाले युरोपेली युनियनले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम क्षेत्रमा गरेको सहयोगको वारेमा जानकारी दिएकी थिइन् ।
साथै यस परियोजना अन्तरगत सरोकारवाला पर्यटन व्यवसायीसँग थप सहकार्य गरी रोजगारदाताको माग अनुसार शिक्षालयले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमका क्षेत्रमा काम गर्नुपर्ने वताइन् । पर्याटन विषयमा महिला प्रशिक्षार्थीहरु सहभागितामा के कति कारणले कमि भएको र यसलाई उल्लेख संख्यामा वढाउनका लागि के कस्ता विशेष कार्यक्रमहरुको आवश्यकता पर्दछ सो का सम्बन्धमा जिज्ञाशा राखेकी थिइन् । प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद्, गण्डकी प्रदेशका निर्देशक प्रमोद आचार्यले राजदुत र अन्य रोजगारदातालाई स्वागत गर्दै परिषद्ले सञ्चालन गरेका कार्यक्रमहरु र हालसम्मको उपलब्धिका वारेमा जानकारी गराएका थिए ।
युरोपियन युनियनले सञ्चालन गरेको यस Seecs परियोजनाले शिक्षालय र रोजगारदाताहरुको संस्थागत समन्वय र सहकार्यमा छोटा अवधिका सीपमूलक तालिका पाठ्यक्रम निर्माण, सीपमूलक तालिम सञ्चालन गरी श्रम बजारको माग अनुसारका जनशक्ति उत्पादन गर्न सकिने विषयमा उनले बताए । कार्यक्रममा शिक्षालय प्रमुख श्ड्वहादुर सुब्वाले शिक्षालयका गतिविधि र उपप्रमुख तथा कार्यक्रमका संयोजक शिशिर सुब्बाले परियोजना लागु भएपश्चात शिक्षालयले सञ्चालन गरेका कार्यक्रम र हालसम्मका उपलब्धिको वारेमा वताएका थिए ।
त्यस्तै कन्सटेन्ट राजु अर्यालले परियोजनाको उद्देश्यको वारेमा थप स्पष्ट पार्दै परियोजनाबाट शिक्षालयले लिन सक्ने फाईदाको वारेमा बताए । कार्यक्रममा सहभागिहरुमध्ये रोजगारदाताहरुको तर्फबाट अमृत बिसिले आफ्ना भनाई राख्ने क्रममा शिक्षालयले हालसम्म सञ्चालन गरेका कार्यक्रमहरुबाट उत्पादित जनशक्तिको गुणस्तर राम्रो रहेको कारणले पर्यटन व्यावसायिहरुले सकेसम्म यसै शिक्षालयबाट उत्पादित जनशक्तिलाई रोजगारीदिन पहिलो प्राथमिकता दिदै आएको बारे जानकारी दिए ।
यस्तै अन्तरक्रिया कार्यक्रममा शिक्षालयमा अध्ययनरत प्रशिक्षार्थी, उर्तिण प्रशिक्षार्थीहरुमध्ये रोजगारीमा आवद्ध भएका प्रशिक्षार्थी, स्थानीय व्यावसायी तथा रोजगारदाता र Eicc का सदस्यहरुले रोजगारमूलक कार्यक्रम सञ्चालनका लागि शिक्षालयले सञ्चालन गर्नुपर्ने थप कार्यक्रमको वारेमा आफ्ना भनाईहरु राखेका थिए । रोजगारदाताहरुले समयसापेक्ष पाठ्यक्रम निर्माण गरि गुणस्तरीय तालिम प्राप्त जनशक्ति उत्पादन गर्न सके रोजगारिको लागि सजिलै लिन सकिने बताउदै यस शिक्षालयबाट उत्पादन भएका प्रशिक्षार्थीहरु अन्य कलेज को तुलनामा उत्कृस्ट रहेको समेत बताए ।