पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले माधवकुमार नेपाललाई सहयोग गर्नकै लागि सरकारले दल सम्बन्धी अध्यादेश ल्याएको बताएका छन् । विहिबार पोखरामा आयोजित जसपाको संगठन सुद्दृणिकरण तथा जनजागरण (सुज) अभियानलाई सम्बोधन गर्दै उनले माधव नेपाललाई दल विभाजन गर्न जरुरी रहेकाले अध्यादेश ल्याउनुपरेको बताएका हुन् ।
माधव नेपालकै कारण सरकार विस्तार पनि ढिलाई भएको उनले बताए । ‘अव छिट्टै सरकार गठन हुन्छ’ उनले भने, ‘५ दलिय गठबन्धनको सरकार केपी ओलीको असंवैधानिक प्रबृत्तिविरुद्ध हो । प्रदेश सरकारमा पनि सहभागी भएका हामी संघमा पनि सहभागी हुनेछौ ।’ उनले राजनीतिमा कसैले पनि दयामाया गरेर अगाडी नबढेको बताउदै आफ्नै क्षमताले गठबन्धनमा समावेश भएको बताए । उनले घुमाउरो पारामा नेपाल जस्तो गरिब मुलुकले एमसीसीको सहयोग लिनुपर्ने बताएका थिए ।
‘भारत पनि हाम्रो छिमेकी हो, खुला सिमाना छ । कयौ नेपाली ओहोरदोहोर गरेका छन् । सम्बन्ध विगार्नु हुदैन’ उनले भने, ‘चीन पनि हाम्रो छिमेकी देश हो । हामीलाई सधै चाहिन्छ । यी दुवैसंगको सम्बन्ध कायम राख्दै अमेरिका जस्तो शक्तिशाली देशसंग पनि सम्बन्ध चिडाउन हुदैन । हामीजस्तो गरिब देशले शक्तिशाली ठूला देशसंग नजिस्काउने र सन्तुलीत सम्बन्ध राखेर सहयोग लिनुपर्छ ।’ उनले राष्ट्रिय हितमा भने चुक्न नहुने बताएका थिए । आगामी वैशाख या जेठमा चुनाव हुने सम्भावना बढी रहेको जनाउदै उनले आफ्ना कार्यकर्तालाई जनतासंग नजकिन निर्देशन दिए । ‘हामी वैकल्पिक शक्तिको रुपमा स्थापित भएका छौ’ उनले भने, ‘हाम्रो नीति, विचार राम्रो छ । तर, कार्यान्वयन गर्न सरकारमा नै हुनुपर्छ । संघीयतामा केन्द्रियमुखी कार्यक्रम भन्दापनि प्रदेश र स्थानीय तहले वडास्तरसम्मै आफै कार्यक्रम राख्ने र पार्टी संगठीत गर्नुपर्छ । आगामी निर्वाचनमा बहुमत ल्याएर सरकारमा सहभागी हुन सकेमात्र हाम्रा योजना कार्यान्वयन हुन्छन् ।’
उनले पार्टीबाट को उम्मेदवार बन्ने ? कहाँ कसरी खटिने, जनतालाई कसरी संगठीत बनाउने भनेर भोलीदेखी नै फिल्डमा खटिनको लागि निर्देशन दिएका थिए । उनले गण्डकी प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउदै संविधान नै अपूर्ण रहेको प्रतिक्रिया दिए । संघीय शासन प्रणलीमा सुधार ल्याउनुपर्ने उनको तर्क थियो । चुनावमा खर्च गर्ने प्रणलीको अन्त्य गर्दै समानुपातिक सांसद प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी (राष्ट्रपति) प्रणलीको कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ । ‘जनताले राष्ट्रपति चुन्नेछन’ उनले थपे, ‘राष्ट्रपतिले दुईचार जना विज्ञ नियुक्त गरेर सरकार गठन गर्ने । सासंदले सरकार गठन गर्न आवश्यक छैन ।’ उनले सांसदलाई दोहोरो भुमिका पनि आवश्यक नरहेको बताए । उनले कार्यकर्तालाई सामाजिक संजालमा पार्टीको चिन्न राखेर राम्रा कार्यका प्रचारप्रसार गर्नसमेत निर्देशन दिएका छन् ।