कांग्रेसबाट को को हुँदैछन् मन्त्रीरु

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन्।
नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री बनेका थिए।
उनले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रबाट २ जना मन्त्री बनाइसकेका थिए। अरू मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँसँग राखेका थिए।
यसबीचमा राजनीतिक दल सम्बन्धी अध्यादेश पनि सरकारले ल्याएको थियो। केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पनि दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउँदा दुई दल विभाजन भएका थिए।
त्यो अध्यादेशअनुसार नेकपा एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्यो भने जनता समाजवादी पार्टी विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ।
दल विभाजनपछि ती दलका सांसदलाई दल रोज्न २१ दिनको समय दिइएको थियो। सरकारले ल्याएको त्यो अध्यादेश निस्कृय बनाएपछि मात्रै अहिले मन्त्रिपरिषद विस्तार गर्न लागिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश खारेज भइसकेको छ।
पछिल्लोपटक कांग्रेस नेता नारायण खड्का परराष्ट्र मन्त्री नियुक्त भएका थिए। त्यसबेला मन्त्रीको सपथसम्बन्धी कानुनी प्रश्न खडा भएपछि केहीदिन मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो।
गत असोज ११ मा बसेको मन्त्रिपरिषद बैठकले सपथ सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश गर्न स्वीकृति दिइसकेको छ।
सत्तारूढ दलहरूबाट मन्त्री हुनेको नाम आएपछि आज मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे मन्त्रीहरूको सपथ गराउने कार्यक्रम छ।
स्रोतकाअनुसार मन्त्री नियुक्त गर्नुअघि शितलनिवास पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।
कांग्रेसबाट को को हुँदैछन् मन्त्रीहरु
प्रधानमन्त्री देउवाले यसअगाडि बालकृष्ण खाणलाई गृहमन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइसकेका छन्। उनीहरू सबै देउवानिकट हुन्।
आज थप गर्न लागिएका मन्त्रालयमा भने देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई पनि समेट्ने भएका छन्।
पौडेल पक्षबाट दिलेन्द्रप्रसाद बडु र मिनेन्द्र रिजाल मन्त्री बन्ने तयारीमा छन्। पौडेल पक्षलाई रक्षा र कानुन मन्त्रालय दिने तयारी देउवाको छ। बडुलाई पौडेल र रिजाललाई महामन्त्री शशांक कोइरालाले मन्त्री बनाउनुपर्ने बताएका हुन्।
यसअगाडि पौडेलले आफूहरूलाई कम्तिमा ३ मन्त्रालय दिइनुपर्ने माग प्रधानमन्त्री देउवासँग राखेका थिए। तर देउवाले दुई मन्त्री मात्र दिन सकिने बताएका थिए। पौडेल पक्षबाट तेजुलाल चौधरी पनि मन्त्री हुने चर्चा थियो।
यस्तै अहिले कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाउने तयारी प्रधानमन्त्रीको रहेको उक्त स्रोतले जानकारी दिएको छ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मीलाई पठाउने तयारी छ। पूर्वमहामन्त्री सिटौला पक्षबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी छ। सिटौला पक्षलाई युवा तथा खेलकूद मन्त्री दिने तयारी देउवाको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *