फेदीखोला दलित एकता समाज फेदीखोला स्याङ्जाको आयोजनामा विजय दशमी, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान गरेकाे छ ।
कार्यक्रममा जेस्ठ नागरिक तथा विद्यार्थीलाई सम्मान गरिएकाे थियाे । विभिन्न राजनीतिक दल, समाजसेवी र स्थानीयबासीकाे सहभागीताका भएको उक्त कार्यक्रममा समाज रुपान्तरणमा राजनीतिक दलको भुमिका के भन्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम समेत गरियाे ।
कार्यक्रममा नेकपा एमालेकी नेता सीता सुन्दासले आफू बच्चा हुँदादेखि नै जातीय बिभेदको सिकार भएको बताईन् । अहिले पनि कतै देखिने कतै नदिखिने गरि जातीय विभेद भईरहेकाे उनकाे धारणा थियाे । छुवाछूत मुक्त समतामूलक समाज निर्माण गर्न कै लागि अाफू कम्युनिस्ट राजनीतिमा होमिएको समेत बताईन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता नारायणप्रसाद मरासिनीले हामीले गरेको आन्दोलनले समाज परिवर्तनमा कति सकारात्मक प्रभाव पार्यो ? अबको बाटो के ? छुवाछूत मुक्त गर्न के कस्ता रुपान्तरणका कार्यक्रम राख्नुपर्छ भन्ने कुरामा हरेक राजनीतिक दलको नेतृत्व पंक्तिले सोच्नु पर्ने बताए ।
प्रगतिशील वामपन्थी नेता पुष्पराज बरालले छुवाछूत मुक्त समाज निर्माण गर्नको लागि फेदीखोला दलित एकता समाजले गरेका हरेक कार्यक्रमहरुले आफु अत्यन्तै खुसी भएको बताउदै अबका दिन समाज परिवर्तनको लागि यस समाजले गरेका हरेक कार्यक्रमहरुमा मेरो साथ सहयोग र समर्थन रहेको कुरा बताए ।
कार्यक्रममा प्रगतिशील संस्कृतिकर्मी तथा कवि सुरज उपाध्यायले छुवाछूत दलित समुदायले सामना गर्नुपरेको आर्थिक, सामाजिक र राजनीतिक विभेद एवं वञ्चितीकरणको समस्या नेपाली समाजमा रहेको कलंकको टीका रहेकाे बताए । रूपा सुनारको अपमान या नवराज विकको हत्याको घटनाले प्रत्येक नेपालीको अपमान र अत्याचार हो भन्दै यस्ता कुरिती, अन्धविश्वास हटाउनको फेदीखोला दलित एकता समाज आगोको झिल्का बनेर अगाडि बड्न सकोस भन्दै यही समाजले अमेरिकाका मार्टिन लुथरकिङ, अफ्रिकाका नेल्सन मन्डेला, भारतका डा भीमराव अम्बेडकर जस्तै नेपालका भगत सर्वजित विश्वकर्मा जस्ता महान ब्यक्तिहरु जन्माउन सकोस् भन्दै शुभकामना दिए ।