वालिङमा १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिक रुपले विपन्न, एकल एवं विधवा महिला, असाह्य, अपाङ्गता भएका ब्यक्तिका लागि बैंकमार्फत १६ करोड ३१ लाख २१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।
नगरपालिकाले वडागत रुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्तिको सूची तयार गरेर विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी ६ हजार ६ सय २८ जनालाई भत्ता वितरण गरेको भट्टराईले बताए । नगरपालिकाका १४ वडामा ७० वर्षभन्दा माथिका तीन हजार २८६, ज्येष्ठ नागरिक दलित ४७८, ज्येष्ठ नागरिक एकल महिला ८००, असहाय÷विधवा ८७२, अपाङ्ग भत्ता क वर्ग १४३, ख बर्ग २६६ र दलित बालबालिका ७८३ गरी कूल ६ हजार ६ सय २८ जनालाई तीन चौमासिकमा बैंकमार्फत रकम हस्तान्तरण गरिएको हो ।
प्रथम चौमासिकमा चार करोड ७४ लाख ६५ हजार २८२, दोस्रो चौमासिकमा पाँच करोड ६० लाख १५ हजार १९८ र तेस्रो तथा अन्तिम चौमासिकमा पाँच करोड ९६ लाख ४० हजार ५२० गरी कूल १६ करोड ३१ लाख २१ हजार भत्ता वितरण गरिएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले जानकारी दिए । नगरपालिकामा सबैभन्दा धेरै भत्ता बुझ्नेको संख्या ७० वर्षमाथिका तीन हजार २८६ जना ज्येष्ठ नागरिक रहेका छन् ।
वालिङ नगरपालिकामा आव २०७६÷७७ मा १७ करोड २१ लाख ४४ हजार ४०० रकम भत्तास्वरुप वितरण गरिएको सहायक लेखापाल ईश्वरीप्रसाद तिवारीले बताए । ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले बैंकमार्फत १७ करोड २१ लाख ४४ हजार ४०० वितरण गरेको हो । नगरपालिकाले प्रथम, दोस्रो र तेस्रो चौमासिकमा भत्ता वितरण गर्दै आएको छ । आव २०७६÷७७ को पहिलो चौमासिकमा ५ करोड ७१ लाख ८३ हजार, दोस्रोमा रु  पाँच करोड ७२ लाख २ हजार र तेस्रो तथा अन्तिम चौमासिकमा ५ करोड ७७ लाख ५८ हजार वितरण गरिएको सहायक लेखापाल तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *