स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ । स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोही अन्तर्गत नागरिकमाझ प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्य अनुसार कार्य भईरहेको नगरप्रमुख दिलीपप्रताप खाँणले जनाए ।
‘विश्व समुदायले आधुनिक प्रविधिको उच्चतम प्रयोगबाटै नयाँ नयाँ आविष्कार गर्दै अगाडि बढिरहेका छन्” प्रमुख खाँणले भने, ‘स्मार्ट सिटी निर्माणका लागि पनि नयाँ नयाँ प्रविधिको प्रयोगबाटै सेवा प्रवाह हुनु आवश्यक छ ।’ नगरपालिकाका १४ वटा वडामध्ये पहिलो चरणमा नगरपालिका कार्यालय, वडा कार्यालय र नगरका १७ वटा स्वास्थ्य संस्थामा फाईबर ईन्टरनेट विस्तार गरिसकेको खाँणले बताए । दोस्रो चरणमा नगरका सम्पूर्ण विद्यालय, सरकारी संघ संस्था तथा कार्यालय र तेस्रो चरणमा १४ वटै वडाका ३१० वटा गाउँ गाउँमा इन्टरनेटको सहज पहुँच पु¥याउने गरी काम भईरहेको छ ।
‘वडा कार्यालय, सरकारी कार्यालय, स्वास्थ्य संघ संस्था, विद्यालयमा फाईबर इन्टरनेट जडान गरेर प्रविधिमैत्री सेवा उपलब्ध गराउने कार्य भईरहेको छ’ खाँणले भन्छन, ‘प्रविधिको प्रयोगमार्फत कार्यालयले सेवा उपलब्ध गराउने र सेवाग्राहीले विभिन्न एप्स तथा डिजिटल माध्यमबाट सेवा शुल्क भुक्तानी गर्ने सफ्टवयरको विकास गरेका छौं । जसले सेवाग्राहीलाई सेवा लिन कार्यालयमा आईरहनुपर्ने झण्झट पनि हुँदैन ।’ नगरका १४ वटै वडामा नेपाल टेलिकमको ‘फाईबर लिज लाईन कनेक्टिभिटी’ जडान गरिसकिएको छ भने वल्र्डलिंक कम्पनीको लाईन पनि जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले बताए ।
‘नगरभित्रका १७ वटा मावि तहका सामुदायिक विद्यालय, १७ वटा स्वास्थ्य संस्था र सरकारी संघसंस्था तथा कार्यालयमा वल्र्डलिंकको फाईबर इन्टरनेट जडान सम्पन्न भईसकेको छ’ अर्यालले भने, ‘अब ५६ वटा सामुदायिक आधारभूत विद्यालयमा इन्टरनेट विस्तारका लागि काम भईरहेकाले तिहार लगत्तै सकिन्छ ।’ वल्र्डलिंकले सबै कार्यालय तथा विद्यालयमा १० एमबिपिएस क्षमताको इन्टरनेट दुई वर्षसम्म निशुल्क रुपमा उपलब्ध गराउने सम्झौता भएको उनले बताए । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको नगरपालिकाले कागजी प्रक्रियालाई कम गर्दै विस्तारै ‘पेपरलेस’ पद्धतिमार्फत सेवा लिन नागरिकलाई अभिप्रेरित गर्न खोजेको छ ।
डिजिटल पद्धतिमार्फत नागरिकलाई सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधि तथा कर्मचारीलाई ‘विद्युतीय हाजिरी’ का लागि क्रिप्टो टोकन समेत उपलब्ध गराईसकेको छ । वालिङका नागरिकलाई कार्यालयमा उपस्थित नभएरै पनि सेवा लिन पाउने र डिजिटल माध्यमबाटै भुक्तानी गर्न मिल्ने ब्यवस्था मिलाएको छ । नगरपालिकाले प्रदान गर्ने सेवाकाबारेमा नागरिकलाई जानकारी गराउनुका साथै टोल टोलमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने नीति तथा कार्यक्रम अगाडि सारेको छ ।
