करिब ६ हजार वडामा अधिवेशन गरेको तीन दिनपछि मंगलबार एमालेले पालिकामा अधिवेशन सुरु गरेको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार मंगलबार करिब ६ सय पालिकामा अधिवेशनको प्रक्रिया सुरु भएको हो । तीमध्ये केही ठाउँमा सर्वसम्मत नेतृत्व चयन भइसकेको र ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट देशैभरका पालिका अधिवेशनको उद्घाटन गरेका थिए । उनले उन्नतस्तरको समझदारीका साथ अधिवेशन हुने बताएका थिए । कार्यालय सचिव तामाङले बाढीबाट प्रभावित करिब डेढ सय पालिकामा अधिवेशन हुन नसकेको जानकारी दिएका थिए ।
अधिवेशन हुन नसकेका वडा र पालिकामा छिट्टै अधिवेशन हुने उनले बताए । ‘मंगलबारको रिपोर्टअनुसार करिब एक सय पालिकाले नेतृत्व सर्वसम्मत चयन गरेको छ । केही ठाउँमा सर्वसम्मत गराउने प्रयास भइरहेको र अन्यमा मतदान हुने भएको छ ।’
एमालेको विधानअनुसार महानगरमा १ सय १ सदस्यीय, उपमहानगरमा ८५ सदस्यीय तथा गाउपालिका र नगरपालिकामा ७५ सदस्यीय कमिटी रहनेछन् । एमालेले मंसिर १०–१२ मा चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
