नेपाल टेलिभिजनको प्रस्तुति दोहोरी च्याम्पियनको अन्तिम प्रतिष्पर्धा आज पोखरामा हुँदैछ । कि एड्भटाइजिङ प्रा।लि।को प्रायोजनमा भएको उक्त प्रतियोगितामा बिजेताका लागि बालचन्द्र बराल तथा शोभा कार्की र प्रकाश पराजुली तथा मिना बुढाथोकीको समूह प्रतिष्पर्धा गर्दैछन् । दर्शक मत समेत निर्णयको आधार हो ।
प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । पोखरास्थित बाराहीघाटमा संचालन हुने च्याम्पियनको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । च्याम्पियन अन्र्तगत विजेता समुहले नगद २० लाख साथमा १ करोड बराबरको जीवन विमा तथा उपविजेता समुहले नगद १० लाख तथा ५० लाख बराबरको जीवन विमा पुरस्कार पाउने छन् । त्यस्तै तृत्तीयलाई ३ लाख तथा सान्त्वना समुहलाई २ लाख दिइने छ ।
प्रतियोगिताका गायक प्रजापति पराजुली र गायिका सीता थापा तथा गीतकार रमेश बिजी र चन्द्र शर्मा निर्णायक छन् । त्यस्तै गायक बद्री पंगेनी र गायिका प्रीति आलेले कार्यक्रम संचालन गर्दै आएका छन् ।
‘प्रतिस्पर्धा दोहोरीकोः संरक्षण संस्कृतिको’ नाराका साथ च्याम्पियन गरिएको हो।प्रतियोगितासँगै पोखराको पर्यटन तथा संस्कृतिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । दिउँसो ४ बजेबाट सुरु हुने उक्त प्रतियोगिताको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण समेत गर्नेछ ।
