नेपालबाट हराएका पुरातात्विक महत्त्वका सम्पदाहरू विदेशका विभिन्न संग्राहलयमा भेटिएका छन् । अमेरिका, वेलायत र फ्रान्सका संग्रालयमा फेला परेका हुन् । यी भन्दा अघि पनि तिनै संग्रहालयमा सम्पदा भेटिएका हुन् ।
चाेरिएका या हराएका सम्पदा पहिचान तथा उत्खननमा लागि परेकाे `लष्ट अार्टस अफ नेपाल´ अभियानका अनुसार पाटनकाे ता:बहास्थित बाैद्व गुम्बाबाट हराईरहेकाे सत्राै शताब्दीको हार अमेरिकाकाे न्यूजर्सिमा फेला परेकाे छ ।न्यूजर्सीको निजी कला–सम्पदा बिक्रीघर ‘विलो अक्सन हाउस’मा यो पुरातात्विक हारलाई बिक्रीमा राखिएको छ ।
यस्तै, लोमाथाङ, मुस्ताङबाट हराइरहेको १५ औं शताब्दीको कृति मानिने कुंगा वाङचुकको धातु पोट्रेट भने बेलायतको ब्रुनइ ग्यालरीमा भेटिएको छ । पूर्वीय सभ्यता, संस्कृति र नेपाली इतिहाससमेत पढाइ हुने लण्डनको स्कूल अफ ओरिएन्टल एण्ड अफ्रिकन स्टडिजले गरेको प्रदर्शनीमा यो सम्पदा राखिएको छ ।

भक्तपुरको नासमना टोलबाट हराइरहेको उमामहेश्वरको मूर्ति भने फ्रान्सको सरकारी संग्रहालय ‘गिमे’मा फेला परेको छ । यो मूर्तिलाई १२ औं शताब्दीको सिर्जना मानिन्छ ।
गिमे म्युजियममै, पाटनको च्यासल हिटीबाट हराइरहेको १२ औं शताब्दीको प्रस्तर सिर्जना श्रीधर बिष्णुको मूर्ति समेत फेला परेको छ । यसरी सम्पदाको पहिचान भएपछि सम्बद्ध मुलुकका नेपाली नियोगहरूले आफ्नो सम्पत्ति घरफिर्ती गर्नमा पहल गर्नुपर्नेमा बेलायत र फ्रान्सस्थित नियोगले भने खासै तदारुकता देखाउन सकेका छैनन् ।
अमेरिकाबाट भने वासिंङटन र न्यूयोर्कस्थित नेपाली कुटनीतिक नियोगको सहजीकरणमा फेला परेका मूर्ति घरफिर्ती भैरहेको छ ।