सामूहिक बलात्कारका आरोपीलाई प्रहरीले १९ दिनपछि पक्राउ गरेको छ । बेनी नगरपालिका–५ की २५ वर्षीया महिलालाई बलात्कार गरी फरार भएका तीन आरोपी १९ दिनपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विक रहेका छन् ।
बलात्कार आरोपीका परिवारले कात्तिक ४ मा बिहानसम्म थुनछेक गरी आर्थिक प्रलोभनमा घटना लुकाउने प्रयास गरे पनि पीडितले लुकीछिपी भागेर प्रहरी कार्यालयमा जाहेरी दिन पुगेको बताएकी छन् ।
पीडितका अनुसार बलात्कारको क्रममा नजिकै रहेका १० वर्षीय छोरा चिच्याउन खोज्दा उनलाई आरोपीले सिरकले मुख थुनेर राखेका थिए । कात्तिक २ गते राति झ्याल फोरेर उनीहरुले बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । पीडितले प्रहरीमा किटानी जाहेरी दिएपछि आरोपी तीनै जना फरार भएका थिए ।
घटनालगत्तै प्रहरीलाई खबर गर्दा वास्ता नगरेको र कार्यालयमै पुगेर जाहेरी दिन आग्रह गरेको पीडितले बताएकी छन् । साथै पीडकहरूले घटनालाई लुकाउन आर्थिक प्रलोभनसमेत दिएको पीडित महिलाको आरोप छ । बलात्कृत महिलालाई बेनीस्थित हिंसापीडित आश्रयस्थलबाट माइती पक्षले लिएर गएका थिए ।
‘बाहिरबाट बोलाए । म नबोलेपछि झ्यालमा तीन लात्ता हानेर फोडेर भित्र पसे । म कराएँ । छोराछोरी उठेर रुन थाले, उनीहरूले छोराछोरीलाई पनि कुटपिट गरे । छोराको मुखमा सिरक राखेर उठ्न दिएनन्’ पीडित महिलाले भनिन् । घटना बाहिर ल्याए पीडकले जलाएर हत्या गरिदिने धम्की दिएकोसमेत पीडित महिलाको आरोप छ ।