स्याङ्जाको गल्याङ नगरपालिकाले तीनसय जना क्षमता रहेको सिटी हल निर्माण गरेको छ । गल्याङ नगरपालिका–३ गल्याङबजारस्थित सिटी हल बनाएको छ । भ्याट बाहेक तीन करोड ६६ लाख ३५ हजार तीन सय ४३ रुपैयाँ ७९ पैसामा निर्मित सिटी हल भवनको विहीबार गरिएको एक कार्यक्रममा हस्तान्तरण गरिएको छ ।
निर्माण आयोजनाका तर्फबाट सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले गल्याङ नगरपालिकालाई सिटी हल भवन हस्तान्तरण गरेको हो । कार्यक्रममा आयोजनाका प्रमुख इन्जिनियर झपटबहादुर थापाले गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई भवन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले समयमा नै सिटी हल निर्माण गरी हस्तान्तरण गरिएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले विकासको सन्दर्भमा स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासनको महत्वपूर्ण हात हुने बताए ।
नगरप्रमुख अधिकारीले भने, ‘जनप्रतिनिधि निश्चित समयका लागि मात्रै हुने भएकाले दीर्घकालिन योजना बनाउने मात्रै बढि हुन्छ । तर कर्मचारी प्रशासनले ती योजनालाई पुरा गर्ने हात रहेको हुन्छ ।’
उनले गल्याङ नगरपालिका पहिलो नगरपालिका भएकाले पूर्वाधार निर्माणमा विभिन्न समस्या झेल्नुपरेको बताए । आफ्नै प्रशासनीयक भवन निर्माण गर्नुपर्ने अवस्था भएकाले विकास निर्माणका अन्य पक्षमा पनि धेरै काम गर्न नसकिएको भन्दै नगरप्रमुख अधिकारीले अर्को कार्यकालका लागि धेरै पूर्वाधार निर्माण भैसकेकाले काम गर्न सजिलो हुने बताए ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले विकास निर्माणको प्रक्रिया एकैपटक नहुने भन्दै क्रमशः विकासको काम अगाडि बढ्दै गएको बताए । आयोजना प्रमुख थापाले समयमा नै सिटी हल हस्तान्तरण गर्न पाउदा आफुलाई खुशी लागेको बताए ।
