अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर)ले लोकतन्त्र र जनचाहना विपरित हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताएका छन ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै जनअधिकार कुण्ठित गर्ने र संविधान च्यात्ने निरङ्कुश प्रवृत्तिका विरुद्ध प्रेस जगत्लाई आन्दोलनमा उत्रिन समेत उनले आह्वान गरे ।
सञ्चार जगत्लाई सामाजिक परिर्वतनको पक्षमा उभिन आग्रह गर्दै उनल भने“सकारात्मक कुराहरुलाई प्रेसले स्थापित गर्नुपर्ने हुन्छ । पार्टीको आन्तरिक जीवनमा देखिने लोकतन्त्रका विरुद्धका कार्यमा समेत तपाईहरु बोल्नुपर्दछ । बचनले होइन कर्मले लोकतन्त्रको सेवा गर्नुपर्दछ । काम र व्यवहारले लोकतन्त्रको पक्षमा उभिने कुरा महत्वपूर्ण हुन्छ ।”
भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी सशक्त भण्डाफोर गर्न समेत अपिल गरे ।
समाजवादतिर अघि बढ्ने संवैधानिक अधिकार रहेको चर्चा गर्दै मन्त्री शर्माले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनता सहित समाजवादका लागि आवश्यक विचार, सङ्गठन, स्कुलिङ र संस्कार र व्यवहार हुनुपर्नेमा जोड दिए ।
मन्त्री शर्माले प्रेस सेन्टरले जनताको आवाजहरुमा रमाउने र स्थापित हुने कार्यदिशा तय गर्न समेत सुझाव दिए ।
लोककल्याणकारी विज्ञापनलाई सबै सञ्चार संस्थाले प्राप्त गर्ने गरी व्यवस्थित गरिने जानकारी दिँदै उनले अनलाइन सञ्चार माध्यमको मुल्याङ्कनका लागि प्रेस काउन्सिललाई आग्रह गरिएको र सोपछि अनलाइनलाई समेत लोककल्याणकारी विज्ञापन उपलव्ध गराइने बतए ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेशका इन्चार्ज एवं पूर्वमन्त्री हितराज पाण्डेले क्रान्तिकारी पत्रकारहरुले जनताको आवाज बोल्नुपर्ने र कलम चलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा माओवादी केन्द्र गण्डकीका सचिव देवेन्द्र पराजुली, प्रेस सेन्टरका केन्द्रीय संयोजक महेश्वर दाहाल, प्रेस सेन्टरका प्रदेश इन्चार्ज एवं पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, प्रेस चौतारी गण्डकीका संयोजक सुष्मा पौडेल, समाजवादी प्रेस संगठनका नेता एवं पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस सेन्टरका प्रदेश संयोजक अर्जुन काफ्ले, सहसंयोजक दीपक श्रेष्ठ, प्रदेशका नेता सन्तोष गौतम लगायतले संवैधानिक व्यवस्था अनुसार प्रेसलाई स्वतन्त्रता दिन माग गरेका थिए ।
कार्यक्रममा प्रेस सेन्टरका संस्थापक एवं पूर्व अध्यक्षद्धय लोकप्रसाद(एलपी)बञ्जारा र त्रिभुवन पौडेललाई जनपक्षिय पत्रकारिता र सङ्गठनको वृत्ति विकासमा योगदान पु¥याएकामा प्रशंसापत्रबाट सम्मानित गरिएको थियो । अधिवेशनले आगामी दुई वर्षका लागि प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।
