सुचना प्रविधि क्षमताको लेखाजोखामा वालिङ दोस्रो

Share this post :

Facebook
Twitter
WhatsApp

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखामा स्याङ्जाको वालिङ नगरपालिका दोस्रो भएको छ । मन्त्रालयको सूचना तथा प्रविधि शाखाले सातवटै प्रदेशबाट ४३४ पालिकाको लेखाजोखा गर्दा वालिङ नगरपालिका दोस्रो भएको मन्त्रालयको वेवसाईटमार्फत सार्वजनिक गरिएको हो ।
स्थानीय तहमा उपलब्ध रहेको जनशक्तिमध्ये सूचना प्रविधिसम्बन्धी ज्ञान भएका जनशक्तिको स्थिति, सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधारको उपलब्धता, सूचना प्रविधिमा स्थानीय तहको संस्थागत क्षमताको स्थिति, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग, वेवसाईट ब्यवस्थापन, डिजिटल साक्षरता, सूचना प्रविधि सम्बन्धी नीतिगत ब्यवस्थाको मूल्याङ्कन गरी आगामी दिनमा गर्नुपर्ने कार्यकाबारेमा सुझाव प्रस्तुत गर्ने मुख्य उद्देश्य रहेको छ ।
यस मूल्याङ्कनले स्थानीय तहलाई सूचना प्रविधि प्रयोगको हालको अवस्थाकाबारेमा जानकारी प्रदान गर्दै सूचना प्रविधिको क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धिका लागि मार्गदर्शन मिल्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना तथा प्रविधि शाखाको वेवसाईटमा उल्लेख छ । सूचना प्रविधिमा स्थानीय तहको क्षमता अभिवृद्धिका लागि काम गर्न चाहने संघीय तथा प्रादेशिक निकाय, अन्य सरकारी तथा गैह« सरकारी निकायलाई समेत सहयोगी हुने जनाईएको छ । यस अध्ययनकालागि सात वटा क्षेत्रका विभिन्न ५० वटा सूचकहरु तयार गरी सोको अंकभार गणनाका लागि स्थानीय तहलाई ईमेल तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत प्राप्त भएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।
सोहीमार्फत स्थानीय तहलाई अंकभार प्रविष्ट गर्न अनुरोध गरिए अनुसार नगरपालिकाबाट भरेर पठाएको विवरणका आधारमा मूल्याङ्कन गरिएको उनले बताए । सूचना तथा तथ्यांकका आधारमा संवैधानिक तथा कानूनी रुपमा स्थानीय तहलाई प्राप्त अधिकारको कार्यान्वयनमार्फत सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग गर्न महत्वपूर्ण हुने उनले बताए । हाल उपलब्ध भएको स्रोत साधन, जनशक्ति, संरचनाको अवस्था र त्यहाँ आवश्यक पर्ने अन्य दक्षताको बीचको अन्तर पत्ता लगाउन सहयोगी हुने उनको भनाई छ ।
‘नगरपालिकाबाट दैनिक भएका सूचना प्रविधिको लेखाजोखा मापदण्ड र अभ्यासहरुलाई हामीले मन्त्रालयमा पठायौं’ उनले भने, ‘हामीले सूचना तथा प्रविधिको प्रयोगलाई नागरिकसँग जोडेर प्रवाह गर्दै आएको दैनिक सेवालाई तेस्रो पक्षले गरेको मूल्याङ्कनमा देशभरीमै दोस्रो हुन सफल भयौं यसले थप उर्जा र हौसला दिएको छ ।’ विभिन्न सात वटा क्षेत्रमा दिएको सूचाङ्कका आधारमा स्थानीय तहले प्रविष्ट गरेको अंकभार बमोजिम स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा गर्दा वालिङ नगरपालिका कूल ७८ अंकसहित दोस्रो हुन सफल भएको हो । कूल ८० अंकसहित रुकुमपश्चिमको चौरजहारी नगरपालिका पहिलो भएको हो भने काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि ७८ अंकसहित दोस्रो भएको छ । मन्त्रालयको वेवसाईटमा सूचना प्रविधिको क्षमतासम्बन्धी लेखाजोखा मूल्याङ्कनकालागि विवरण पठाएका पालिकाहरुको अंकभार सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *