पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाटै आउदो जनवरी १ बाट आन्तरिक र २०७९ वैशाख १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी थालिएपछि हाल संचालनमा रहेको पोखरा विमानस्थलको वैकल्पिक उपयोगिताबारे पोखरामा बहस शुरु भएको छ ।
पोखरा विमानस्थलका अहिले चारवटा विकल्प छन् । पाइलट टे«निङ सेन्टर बनाउने, नीजि क्षेत्रले लिजमा लिएर प्राधिकरणकै एकेडेमी संचालन गर्ने, नेपाल आर्मीले रेस्क्यू सेन्टर बनाउने या खेलकुद उडान गर्ने । यिनै विषयमा यतिबेला नीजि तथा सरकारी तवरमा पोखरा विमानस्थलबारे बहस चलिरहेको छ । हवाई क्षेत्रकै लागि उपयोग गर्ने चाहना नेपाल नागरिक उड्ययन प्राधिकरणको छ ।

पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सुचारु भएपछि हाल भइरहेको पोखरा विमानस्थलको भविष्य के हुन्छ ? भन्ने विषयमा कहिकत्तैबाट पनि ठोस निर्णय भने आएको छैन् । विमानस्थल खाली हुने भएपछि प्राधिकरण, गण्डकी प्रदेश सरकार, नेपाली सेना, पोखरा महानगरपालिका र नीजि क्षेत्रले आ–आफ्नै योजना वहसमा ल्याएका छन् । अहिले सवैको नजर यसैमा छ । यस विमानस्थलको स्वामित्व नेपाल नागरिक उड्ययन प्राधिकरणको हो । प्राधिकरणका सुचना अधिकारी (प्रकाशकीय अधिकृत) देवराज सुवेदीले नीजि क्षेत्रबाट विभिन्न योजना बनाइएको भए पनि निचोड भने निकाल्न नसकिएको बताए । कुनै बाधा, अवरोध उत्पन्न नभए पोखराबाट अन्र्तराष्ट्रिय उडान सुरु हुने समय धेरै छैन, यसकारण पनि पोखरा विमानस्थल के गर्ने भनेर चौतर्फी बहस चलेको सुवेदीको भनाई छ ।

सुवेदीका अनुसार यो विमानस्थललाई पनि चालु नै राख्न सवैको माग छ । सुवेदी भन्छन, ‘जग्गा खाली राख्नु हुदैन भनेर पाइलटको ट्रेनिङ सेन्टर बनाउने पनि कुरा चलेको छ । प्राधिकरणको प्रशिक्षण प्रतिष्ठान काठमाडौंमा छ । यसलाई नै एकेडेमी बनाउने की भन्ने पनि चर्चा छ । नेपाल आर्मीले पनि रेस्क्यू सेन्टर बनाउन खोजेको छ ।’ उनले अभावको बेला खाद्यान्न ढुवानी गर्न सकिने भनेर आर्मीले योजना तय गरेको बताए । प्राधिरकणले होटल व्यवसायी, अल्ट्रालाइट र हेलिकोप्टरको बढी चासो रहेको जनाएको छ । प्राधिकरणका अनुसार २०१४ देखी संचालनमा आएको यस विमानस्थलको जग्गा ११ सय ५६ रोपनी रहेको छ । ११ सय ४७ मिटर लामो र ४० मिटर चाडाईको धावनमार्ग रहेको छ । हाल पोखरा विमानस्थलमा दैनिक २५ सयको हाराहारीमा यात्रु ओहोरदोहोर गर्छन् भने दिनको ३० वटा हवाई उडान हुन्छ ।
भइरहेको संरचना जोगाउनुपर्छ भन्ने सवैको तर्क छ । पोखराबाट काठमाडौ, भरतपुर, भैरहवा, जोमसोम, नेपालगञ्ज र सिमरा गरी नियमित ६ वटा उडान हुन्छ । कोरोना महामारीपूर्व पोखरा–विराटनगर उडान भएपनि हाल रोकिएको छ । विराटनगर र जनकपुर उडान गर्ने तयारी भइरहेको प्राधिकरणका सुचना अधिकारी सुवेदीले बताए । प्राधिकरणका अनुसार बुद्ध, यती, तारा, सिम्रिक, गुण र समिट एयरलाइन्सले उडान गर्दै आएका छन् ।

कोभिड महामारीपछि विदेशीभन्दा आन्तरिक यात्रु बढी रहेको प्राधिकरणले जनाएको छ । पोखरा विमानस्थलबाट दिनमा २० वटा उडान हेलिकोप्टर र अल्ट्रालाइटकै हुने सुवेदीले बताए । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले चालु विमानस्थलबारे छलफल भइरहेको भएपनि निर्णय भने नभएको बताए । ‘संघीय सरकारसँगै बसेर छलफल गर्नुपर्ने हुन्छ’ उनले भने, ‘माथिल्लो तहसम्म छलफल भइसकेको छैन् । प्रदेशमै पनि ठोस छलफल भएको छैन् ।’ मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका प्रेस संयोजक भरत कोइरालाले चालु विमानस्थल प्रदेश सरकारको आफ्नो मातहतमा नभएपनि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको बताए । पर्यटकीय आकर्षण बनाउन खुला छाड्नुपर्ने माग आइरहदा प्रदेश सरकारले सरोकारवालासँग छलफल चलाउने तयारी गरेको उनले बताए । ‘जग्गा प्लटिङ गर्नेको आँखा लागेको छ’ उनले भने, ‘यसतर्फ सरकारको ध्यानाकर्षण भएको छ ।’
पोखराका बासिन्दा कवि तिर्थ श्रेष्ठले भइरहेको संरचना लथालिंग नपार्न र यसको व्यवस्थापनको लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । आइतबार मात्रै नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले मुख्यमन्त्रीसँग भेटघाट गर्दै पोखरा विमानस्थललाई विपद् व्यवस्थापनको लागि प्रयोग गर्न अनुरोध गरेका छन् । प्रधान सेनापतिको भनाई उदृत गर्दै कोइरालाले भने, ‘विपद्मा पहिला नेपाली सेना नै खटिने हो । यसलाई भइपरि आउने विपद्लाई व्यवस्थापन गर्नेतर्फ सोच्नुपर्छ । यसमा प्रदेश सरकारले ध्यान दिओस ।’ मुख्यमन्त्रीले चालु विमानस्थलप्रति सवैको चासो भएकाले सरकारले संघीय सरकार, सरोकारवाला निकायसँग छलफल गरि व्यवस्थापन गर्ने बताएका छन् । आपत्कालीन उडान, अवतरण गर्नको लागि प्रयोग गर्न सकिने सेनाले जनाएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले पुरानो विमानस्थललाई यर्थास्थति नै राख्नुपर्ने बताए । ‘हामीलाई खुला चौर, पार्क चाहिन्छ’ उनले भने, ‘पोखरामा १० हजार अटाउने हल छैन् । ठूला सभा सम्मेलन राख्ने ठाउँ बनाउनुपर्छ भन्ने हाम्रो मत छ ।’ उनले नेपालको मात्रै नभई एसियाकै नमुना पार्क बनाउन सकिने बताए । ‘पोखरामा बढी साहसीक खेलकुद छन्’ उनले थपे, ‘अन्तर्राष्ट्रिय उडानलाई असर नपुग्ने गरि खेलकुदका आन्तरिक उडान गर्नुपर्छ । तर, सुरक्षा निकायलाई भने दिनुहुदैन ।’ उनले बजारभन्दा बाहिरी क्षेत्रमा सुरक्षाकर्मीको तालिम केन्द्र बनाउन सकिने बताउदै विमानस्थलको उचीत व्यवस्थापन गर्नुपर्ने बताए । यसबाट आर्थिक उन्नति पनि हुनेमा उनी विश्वस्त छन् । ‘पोखरा विमानस्थल हाम्रो गौरव पनि हो’ उनले थपे ।
पोखरा अन्र्तराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनान्कर्मीले विमानस्थलको निर्माण कार्य ८७ प्रतिशत सम्पन्न भएको बताएका छन् । उनले बाँकी काम पनि छिट्टै सम्पन्न हुने जानकारी दिए । उनका अनुसार सुरुवातमा पोखराबाट हङकङ, दिल्ली, दोहा र थाइल्यान्डमा सिधा उडान गर्ने तयारी भइरहेको छ । यी शहरलाई ट्रान्जिट बनाएर अन्य मुलुकबाट पनि जहाज आउन सक्छन् । झण्डै २२ अर्व रुपैयाँ लागतमा सन् १०१७ नोभेम्बरदेखी ३ हजार ८ सय ९९ रोपनीमा विमानस्थल निर्माण कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार फोर डी मोडलमा विमानस्थल बनिरहेको छ । निर्माण पूरा भएपछि १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ए३२० र बोइङ ७५७ वा सो सरहका जहाज आउजाउ गर्न सक्ने आयोजनाले बताएको छ । फोर डी श्रेणीको भएकाले यसको रनवको लम्वाई २ हजार ५ सय मिटर रहेको छ ।