ज्यान मार्ने उद्योग मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता भएपछि फरार रहेका २ प्रतिवादीलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको छ । ४ जनामाथि धारिलो हतियार प्रहार गरी फरार रहेको पोखरा महानगर–२० भलाम घर भई वाड नम्बर १७ छोरेपाटन बस्ने १९ बर्षिय गोरे भन्ने सुरज गुरुङ र र सोही वडाको हनुमानटोल बस्ने २५ बर्षिय छावा भन्ने सुशिल कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
गोरेलाई कार्तिक २९ र छावालाई मंसीर १३ गते पक्राउ रुपन्देही जिल्लाको बुटवलबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट मंगलबार ३ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
गत कात्तिक २० गते बिहान देउसीभैलो खेलेर फर्केकालाई छावाको टोलीले आक्रमण गरेको थियो । विशाल घर्ती, विजय तामाङ, चित्रबहादुर गुरुङ र यमसन गुरुङलाई छावाको टोली धारिलो हतियार प्रहार गरी फरार भएको थियो । आक्रमणमा पर्नेहरु देउसी खेलिसकेर डाँडातिर हावा खाएर घर फकर्ने क्रममा थिए । उनीहरुमाथि महतगौडा चोकमा धारिलो हतियार प्रहर भएको थियो ।
त्यस दिन मोटरसाइकलमा घर फर्केदै गरेका ४ जना र छावा भनेर चिनिने सुशील कार्की र गोरेसहित ५÷६ जनाको जम्काभेट भएको थियो । भेटमा शिष्टाचार हुनै पाएन, अपशब्द वर्षिए । यमसन, विशाल, विजय र चित्रबहादुर त्यस्तो नबोल्न भन्दै थिए । उनीहरुको बोली भुइँमा खस्न नपाउँदै छावाले विजय तामाङमाथि हेल्मेट वर्षाइहाले ।
दुवै टोलीबीच भनाभन र हात हालाहाल चलेको विजयले बताएका थिए । छावाले विजय, यमसन, विशाल र चित्रबहादुरमाथि एक एक गर्दै धारिलो हतियार प्रहार गरेको विजयले बताएका थिए । ‘छावाले पछाडिबाट धारिलो हतियार निकाल्दै हामी चारैजनालाई हान्यो,’ घाइते विजय भन्छन्, ‘सबैजना लडिरहेका थियौं । पछाडिबाट अरु साथीहरु आएको देखेपछि छावासहितको टोली फरार भयो ।’
रगत बग्न थालेपछि बल्ल आफूहरु घाइते भएको थाहा पाएको तामाङ बताउँछन् । छावाको टोलीलाई भने कुनै घाउचोट नलागेको उनले दाबी गरे । घाइते चारै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भएको थियो । विजयको मेरुदण्डमा समेत गहिरो चोट लागेको थियो । चित्रबहादुरको घाँटीमा चोट लागेको थियो । उनी सामान्य उपचारपछि घर फर्किएका थिए । यमसनको ढाडका ९ ठाउँमा धारिलो हतियार रोपिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *