अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मुल आवश्यकता’भन्ने नाराकासाथ पुस १५ देखि १७ गतेसम्म रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा लेकसाइडस्थित फेवाताल किनारमा २३ औँ सडक महोत्सव हुने भएको छ ।
पोखरा सुरक्षित रहेको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ बर्षको अवसरमा सडक महोत्सवको आयोजना गरिएको रेष्टुरेण्ट एण्ड वार एसोशियसन रेवानले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पोखराको ब्राण्डका रुपमा स्थापित भएको ‘पोखरा सडक महोत्सव’लाई महाभूकम्प, नाकाबन्दी लगायतका विपदमा समेत निरन्तरता दिदै आएकाले यसबर्ष पनि निरन्तरता दिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए । उनले विगतका बर्षहरुमा जस्तै यसपटक पनि विभिन्न जनसमदुाय, पर्यटन व्यवसायी, सरोकारवालाहरुको निरन्तर सहयोग रहने अपेक्षा गरिएको बताए ।
आयोजित महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा समेत प्रर्दशन गरिने अध्यक्ष बरालले बताए । उनका अनुसार महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङगा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता समावेश गरिएको छ । अंग्रेजी नयाँ बर्षमा विगत दुइदशक देखि पोखरामा सडक महोत्सबको आयोजना गरिदै आएको छ ।
पोखरा सडक महोत्सव सम्पन्न गर्न सस्ंथाका प्रथम उपाध्यक्ष नरेश भट्टराईको संयोजककत्व, सचिव भिष्म राज पौडल र सह कोषाध्यक्ष रोशन जंग कार्की सह–संयोजक रहने गरि विभिन्न उपसमितिहरु गठन भएको छ । सडक महोत्सव पछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्ने ब्यवसायीको अपेक्षा छ ।
